भारतमा रगत चढाउँदा १० बालबालिकालाई ‘एचआइभी’ संक्रमण, स्वास्थ्य क्षेत्रमा गम्भीर प्रश्न

santan ads

विष्णुकान्त तिवारी, अभिषेक डे

भारतको मध्य प्रदेश र झारखण्ड राज्यमा ‘थालासेमिया’ पीडित १० जना बालबालिकालाई रगत चढाउने क्रममा ‘एचआइभी’ (ह्युमन इम्युनोडेफिसेन्सी भाइरस) संक्रमण भएको छ ।

जीवन बचाउन नियमित रगत फेर्नुपर्ने बालबालिकाहरूमा अस्पतालको असावधानीका कारण प्राणघातक संक्रमण देखिएपछि भारतको स्वास्थ्य प्रणाली र रक्त सञ्चार प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ ।

मध्य प्रदेशको सतना जिल्लामा ३ देखि १५ वर्ष उमेर समूहका पाँच बालबालिकामा संक्रमण पुष्टि भएको छ । स्थानीय प्रशासनले यस घटनाको गम्भीर छानबिन गर्न एउटा समिति गठन गरेको छ । सन् २०२५ को जनवरीदेखि मे महिनाको बीचमा गरिएको नियमित परीक्षणका क्रममा यो तथ्य खुलेको भए पनि हालै सञ्चारमाध्यममा खबर आएपछि यसले देशव्यापी चर्चा पाएको हो ।

यस्तै प्रकृतिको अर्को घटना केही हप्ताअघि पूर्वी राज्य झारखण्डमा पनि देखिएको थियो । त्यहाँ ८ वर्षमुनिका पाँच बालबालिका सरकारी अस्पतालमा रगत चढाउने क्रममा संक्रमित भएका थिए । झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले पीडित परिवारलाई २ लाख भारु आर्थिक सहायता दिने घोषणा गर्दै दोषी कर्मचारीहरूलाई निलम्बन गरिसकेका छन् ।

सतनाका मुख्य चिकित्सा तथा स्वास्थ्य अधिकारी मनोज शुक्लाले बालबालिकाहरूको अवस्थाबारे जानकारी दिँदै भने, ‘धेरै पटक रगत चढाउनुपर्ने बालबालिकाहरू उच्च जोखिममा हुन्छन्, त्यसैले उनीहरूको नियमित परीक्षण गरिन्छ । अहिले बालबालिकाहरूको उपचार सुरु भइसकेको छ र उनीहरूको अवस्था स्थिर छ ।’

उनका अनुसार जिल्ला अस्पतालले सबै प्रक्रिया पुर्‍याएर रगत परीक्षण गरे पनि कहिलेकाहीँ ‘विन्डो पिरियड’ (संक्रमणको सुरुवाती चरण) मा रहेका दाताको रगतमा भाइरस नदेखिने प्राविधिक जोखिम रहन्छ ।

संक्रमणपछि ती बालबालिका र परिवारले कडा सामाजिक विभेद भोग्नुपरिरहेको छ । झारखण्डका एक ७ वर्षीय बालकलाई ‘एचआइभी’ भएको थाहा पाएपछि घरबेटीले घरबाट निकालिदिएका छन् ।

पीडित बालकका बुबाले पीडा सुनाउँदै भने, ‘मैले धेरै सम्झाउन खोजेँ तर उनीहरूले घर खाली गराएरै छाडे, अहिले छोराको शिक्षा र स्वास्थ्य सुविधा दुवै प्रभावित भएको छ ।’ मध्य प्रदेशका अर्का एक पीडित पिताले आफ्नो आक्रोश व्यक्त गर्दै भने, ‘मेरो छोरी पहिले नै थालासेमियाले पीडित थिइन्, अहिले मध्य प्रदेशको दयनीय स्वास्थ्य सुविधाका कारण उनलाई एचआइभी पनि भयो ।’

यो घटनापछि थालासेमियाका बिरामी र अधिकारकर्मीहरूले रगत संकलन र परीक्षणलाई थप सुरक्षित बनाउन ‘नेसनल ब्लड ट्रान्सफ्युजन बिल २०२५’ पारित गर्न सरकारलाई दबाब दिएका छन् ।

भारतमा हाल २५ लाखभन्दा बढी मानिस ‘एचआइभी’ का साथ बाँचिरहेका छन् भने वार्षिक ६६ हजारभन्दा बढी नयाँ संक्रमित थपिने गरेका छन् ।

थालासेमिया एक वंशाणुगत रगतको समस्या हो, जसमा बिरामीको शरीरले पर्याप्त रातो रक्तकोषिका बनाउन सक्दैन र जीवन बचाउनका लागि वर्षौंसम्म नियमित रूपमा रगत चढाइरहनु पर्ने हुन्छ । तर, सुरक्षित रक्त सञ्चारको अभावमा बिरामीहरूले थप जोखिम मोल्नुपर्ने अवस्था देखिएको छ ।

बीबीसीको सहयोगमा

Scroll to Top