
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा होमिन जनता र राजनीतिक दलले चाहेका बताउँदै केही तत्वले त्यो चाहनालाई प्रभावित पार्ने प्रयास गरिरहेका बताउनुभएको छ ।
नेकपाको बागमती प्रदेशस्तरीय एकता सन्देशसभालाई आज काठमाण्डौंमा सम्बोधन गर्दै उहाँले मुलुकलाई अफ्ठ्यारोमा पर्न नदिन घोषित मितिमै निर्वाचन हुनुको विकल्प नभएको बताउनुभयो ।
‘घोषणा भइसकेको निर्वाचन नै अहिलेको सहज विकल्प हो । जनता निर्वाचनका लागि तयार भइरहेका छन्’ संयोजक दाहालले भन्नुभयो, ‘निर्वाचन बिथोल्ने वा निर्वाचनको प्रक्रियामा अघि बढ्ने जनता र राजनीतिक दलको चाहनालाई कसैले भ्रमित नगरोस् ।’
निष्पक्ष निर्वाचन गराउने जिम्मेवारी सरकारको भएको जनाउँदै उहाँले संसद् पुनःस्थापनाको हल्ला चिरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
‘साँच्चै फागुन २१ गते निर्वाचन होला त ? मानिसहरुको मनमा संसद् पुनःस्थापना होला र ? कि निर्वाचन होला भन्ने प्रश्न जन्मिरहेको छ’, उहाँले भन्नुभयो, ‘निर्वाचन नै सहज बाटो हो, निर्वाचनमार्फत नै मुलुकलाई नयाँ दिशा दिन सकिन्छ ।’ उहाँले संसद् पुनःस्थापनाको बाटो सहज नभएको बताउनुभयो ।
संयोजक दाहालले भ्रष्टाचारविरुद्ध अभियान चलाउने, सुशासनको पक्षमा लड्ने, उत्पीडित जाति, वर्ग, क्षेत्र र समुदायको पहिचान र अधिकारका लागि योगदान गर्ने नै जेनजी पुस्ताको अभिभावक र प्रतिनिधि भएको बताउनुभयो ।







