
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्ने भएको छ।
अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले हाल तोकिएको शुल्क अत्यन्तै महँगो भएको भन्दै त्यसलाई घटाउने प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो।
केही समयअघि मात्रै मन्त्रालयले स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सय रुपैयाँबाट बढाएर ९ हजार ५ सय पुर्याएको थियो।
सो शुल्क वृद्धिको चौतर्फी आलोचना भएपछि मन्त्री भण्डारीले भन्नुभयो, ‘स्वास्थ्य परीक्षण शुल्क चर्को भएको गुनासो आएको छ, त्यसैले हालै गरिएको शुल्क वृद्धि खारेज गर्ने प्रक्रियामा हामी जाँदैछौँ।’
मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरू सीपमूलक तालिमका नाममा विभिन्न ठाउँमा ठगीने गरेको उल्लेख गर्दै अब सरकारले नै तालिम सञ्चालन गर्ने विषयमा गृहकार्य भइरहेको बताउनुभयो।
वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणका लागि मन्त्रालयले संयन्त्रगत रूपमै काम सुरु गरिसकेको उहाँको दाबी छ।
मन्त्री भण्डारीले श्रमिकको हित र सुरक्षालाई ध्यानमा राखेर सरकारले आगामी दिनमा थप कदम चाल्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
अन्तर्राष्ट्रिय आप्रवासन दिवसको सन्दर्भमा मन्त्रालयले पुस ७ गतेसम्म विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिरहेको छ।







