
२००७ सालमा १०४ वर्षे राणा शासनबाट मुक्त भएको १० वर्षपछि नेपालमा तत्कालिन राजा महेन्द्रले २०१७ पुस १ गतेबाट पञ्चायती व्यवस्था शुरु गरे ।
राजनीतिक इतिहासरमा तीसवर्षे कालरात्री भनिएपनि बहुदलीय संसदीय व्यवस्था नेपालमा अफाप सिद्ध भएको भन्दै राजा महेन्द्रले एकदलीय पञ्चायती व्यवस्था शुरू गरेका थिए ।
त्यसको १८ महीना अगाडि पहिलो आम निर्वाचन मार्फत नेपाली काँग्रेसका नेता विश्वेश्वर प्रसाद(विपि) कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । २०१७ पुस १ गते प्रधानमन्त्री कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुआत गरे ।
जननिर्वाचित सरकारलाई अपदस्थ गरिएको विरोधमा आजको दिनलाई लोकतान्त्रिक धारका राजनीतिक दलले कालो दिवसका रुपमासमेत मनाउने गरेका छन् । यहि समयमा नेपालको संविधान, २०१९ जारी गरियो जसले निर्दलीय पञ्चायती व्यवस्थाको जगलाई मजबुत बनाएको थियो ।
२०२० भदौ ९ गते नयाँ मुलुकी ऐन लागू भएको थियो । जुन ऐन अहिलेको ब्यबस्थापिका संसदले भर्खरै संशोधन गरेर २०७५ भदौ १ गतेबाट लागू गरेको छ । यहि बिचमा २०१८ सालबाट काँग्रेसले शसस्त्र विद्रोह शुरु गरेको थियो । २०२४ मा विपिलगायतका केही राजनीतिक बन्दीहरू रिहा भएका थिए ।
२०२८ मा राजा महेन्द्रको निधन भएपछि राजगद्धि बीरेन्द्रको हातमा गएको थियो । २०२८ बाटै नेपालमा कम्युनिष्ट पार्टीले झापाबाट सशस्त्र विद्रोह शुरु गर्यो । २०३३ सालमा निर्वासनमा रहेका विपि कोइराला मेलमिलापको नीति लिएर नेपाल फर्किए । २०३६ सालमा नेपालमा जनमत संग्रह गरियो । जसमा सुधारिएको पञ्चायती ब्यबस्थाले जित्यो ।
त्यसपछि काँग्रेसले २०४२ बाट पञ्चायती ब्यबस्थाका बिरुद्ध सत्याग्रह शुरु गरेको थियो । २०४६ मा काँग्रेस, कम्युनिष्ट मिलेर संयुक्त रुपमा जनआन्दोलन आयोजना भयो । यसैको बलमा २०४६ चैतमा बहुदलीय व्यवस्थाको घोषणा गरियो । २०४६ को जनआन्दोलनले राजतन्त्रलाई संबैधानिक सुधार गर्न र बहुदलिय संसद बनाउन बाध्य बनाएको थियो । त्यसपछि ३० वर्ष अगाडि शुरु भएको पञ्चायती ब्यबस्था अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो ।
०४६ सालपछि प्रजातन्त्र पूनःस्थापना भएपनि राजावादी दलहरु र विभिन्न अभियानले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक गद्दीमा राख्न अझै प्रयासरत छन् । राप्रपाले राजा र हिन्दूराज्यको मागसहित आन्दोलन गरिरहेको छ भने नवीन समझदारीका नाममा ४७ सालको संविधानलाई पुनः मान्यता दिन लागिरहेको छ ।
तस्वीरः द रोयल फेमिली नेपाल फेसबूक पेज







