कास्की सभापति किशोरदत्तले मनोमानी उम्मेदवार सिफारिश गरेकोप्रति १ नम्बरको विरोध

santan ads

नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले जिल्ला सभापति किशोरदत्त बरालले विधानविपरीत मनोमानी ढंगले उम्मेदवार सिफारिस गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

क्षेत्रीय समितिको अधिकार मिचेर प्रक्रिया नै पूरा नगरी माथिल्लो निकायमा नाम पठाएको भन्दै समितिले खेद प्रकट गरेको हो ।

क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेले आइतबार एक प्रेस नोट जारी गर्दै जिल्ला सभापति बरालको कार्यशैली अवैध र विधानविपरीत रहेको दाबी गरेका छन् । मंसिर २१ गतेदेखि निरन्तर उम्मेदवार छनोटका लागि भेला र छलफल चलिरहेकै अवस्थामा जिल्ला सभापतिले एकलौटी रूपमा नाम पेश गरेको लामिछानेको आरोप छ ।

‘केन्द्रको पछिल्लो परिपत्रअनुसार उम्मेदवारको संख्यामा सहमति र सहकार्य गरेर निष्कर्ष निकाल्ने वातावरण बनाउन आइतबार (मंसिर २८ गते) पनि हामी छलफलमै थियौं,’ सभापति लामिछानेले भनेका छन्, ‘तर क्षेत्रले नाम सिफारिस नै नगरी जिल्ला सभापतिले मनोमानी ढंगले नामावली पेश गरेको बुझिन आएको छ । कांग्रेसको विधानले नाम संकलन र सिफारिस गर्ने अधिकार क्षेत्रीय समितिलाई दिएको हुँदा जिल्ला सभापतिको यो कदम पूर्णतः अवैध छ ।’

सभापति लामिछानेले यस्तो कार्यले पार्टीलाई अपूरणीय क्षति पुग्ने र तमाम कार्यकर्ताको मनोबल गिर्ने बताएका छन् । उनले व्यक्तिगत लहडमा नलाग्न आग्रह गर्दै क्षेत्रले संकलन गरेको नामावली सार्वजनिक गरेका छन् भने बाँकी प्रक्रिया पूरा गर्न बाँकी रहेको स्पष्ट पारेका छन् ।

यसै विषयलाई लिएर सभापति लामिछानेले आइतबार नै नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । पत्रमा जिल्ला सभापति बरालको मनोमानी क्रियाकलापले पार्टी संगठनमा नकारात्मक असर पर्ने भन्दै तत्काल हस्तक्षेप गर्न माग गरिएको छ ।

जिल्ला सभापति बरालले क्षेत्रबाट सूची आउन ढिला भएपछि चर्चा चलेकै नामहरुबाट मर्यादाक्रम अनुसारको सूची प्रदेशमा बुझाइएको बताए । सहमहामन्त्री, केन्द्रीय सदस्य र त्यसपछि जिल्लाका पूर्व सभापतिहरुको नाम राखेर पठाइएको भन्दै नियमानुसार नै सूची बुझाएको सभापति बरालको भनाइ थियो ।

Scroll to Top