काठमाडौँ र पोखराका १९ सहकारी लुट्ने ‘सिरियल लुटेरा’ २३औँ पटक पक्राउ: फिल्म र म्युजिक भिडियोमा गर्थे लगानी

santan ads

काठमाडौँ र पोखराका गरी १९ वटा सहकारी संस्थामा शृङ्खलाबद्ध लुटपाट मच्चाउने एक ‘सिरियल’ लुटेरालाई प्रहरीले २३औँ पटक पक्राउ गरेको छ।

काठमाडौँको सिनामंगलस्थित राजश्री बचत तथा ऋण सहकारी संस्थामा चोरी गरेपछि फरार रहेका नुवाकोटका २८ वर्षीय दीपक गजुरेललाई प्रहरी वृत्त गौशालाको विशेष टोलीले शुक्रबार साँझ सिनामंगलबाटै नियन्त्रणमा लिएको हो।

यसरी खुल्यो रहस्य
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार गजुरेलले गत बुधबार राति पौने १ बजे राजश्री सहकारीको कार्यालय तोडफोड गरी लुटपाट गरेका थिए।

सहकारी सञ्चालकले १६ लाख रुपैयाँ लुटिएको उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। कार्यालय तथा आसपासका सीसीटीभी फुटेजको विश्लेषण गर्दा गजुरेलको पहिचान भएको र घटनाको दुई दिनमै उनलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

‘नटवरलाल’ शैली र २२ वटा मुद्दा
प्रहरीको अनुसन्धानका क्रममा गजुरेल सहकारी लुटपाटका ‘नटवरलाल’ नै रहेको खुलेको छ। उनीविरुद्ध यसअघि नै विभिन्न अपराधमा २२ वटा मुद्दा चलिसकेको पाइएको छ।

एसपी भट्टराईका अनुसार गजुरेल यसअघि सहकारी लुटपाट अभियोगमै पुर्पक्षका लागि सुन्धारा कारागारमा थुनामा थिए। तर, गत भदौ २४ गते भएको प्रदर्शनका क्रममा उनी कारागारबाट भाग्न सफल भएका थिए।

एक्लै लुटपाट, महँगा होटल र फिल्ममा लगानी
गजुरेलको अपराध गर्ने शैली अनौठो पाइएको छ। उनी दिउँसो सहकारीहरूको रेकी गर्ने र राति १२ देखि २ बजेको समयमा एक्लै गएर लुटपाट गर्ने गर्थे। राजश्री सहकारीमा पनि उनी एक्लै प्रवेश गरेका थिए।

लुटपाटबाट जम्मा गरेको रकम उनले विलासी जीवनशैली र मनोरन्जन क्षेत्रमा खर्च गर्ने गरेको खुलेको छ।

प्रहरीका अनुसार उनले लुटेको रकम विभिन्न फिल्म तथा म्युजिक भिडियो निर्माणमा लगानी गर्ने गरेका थिए। उनी काठमाडौँ र पोखराका महँगा होटलहरूमा प्रेमिका लिएर बस्ने गरेको अनुसन्धानबाट खुलेको छ।

१० लाखभन्दा बढी रकम बरामद
प्रहरीले गजुरेलको साथबाट र उनले लुकाएको स्थानबाट गरी १० लाख ४७ हजार रुपैयाँ बरामद गरेको छ। पक्राउ पर्दा उनको साथमा २३ हजार ५०० रुपैयाँ मात्र फेला परेको थियो।

पछि उनकी प्रेमिकालाई समेत नियन्त्रणमा लिएर सोधपुछ गर्दा ठमेलस्थित ‘होटल लोटस ग्रान्ड’ मा लगेजभित्र लुकाएर राखेको अवस्थामा थप १० लाख २३ हजार ५ सय रुपैयाँ बरामद भएको प्रहरीले जानकारी दिएको छ। बाँकी रकम भने खर्च भइसकेको बयान उनले दिएका छन्।

प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।

Scroll to Top