
भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले पोखरामा आएर पर्यटन र विकासको चर्चा गरेका छन् ।
पार्टी विस्तार र सदस्यता वितरण गर्ने योजनाअनुरुप उज्याले नेपाल पार्टीले तयारी गरेपनि सोही अनुरुपको बृहद भेला हुन नसकेपछि मन्त्री घिसिङले पोखरालाई केन्द्रमा राखेर पर्यटनलगायतको चर्चा गर्दै पार्टीले प्राथमिकतामा राखेको बताए ।
गण्डकी प्रदेश स्तरीय भेलामा उनले सिँचाइ, कनेक्टिभिटी र पर्यटन पूर्वाधारको समग्र विकास नगरेसम्म नेपालको दिगो विकास सम्भव नहुने बताएका छन् ।
मन्त्री घिसिङले वनसम्बन्धी कानुन र जग्गा अधिग्रहणका झन्झटले विकास आयोजना अघि बढाउन ठूलो अवरोध सिर्जना गरिरहेको बताए । ‘सरकारी जग्गा प्रयोग गर्दा पनि विकासमा कठिनाइ छ । यी सबै समस्याको पहिचान गरेर समाधान नगरेसम्म देश अगाडि बढ्न सक्दैन,’ उनले भने ।
पोखरालाई नेपालको प्रमुख पर्यटन नगरीका रूपमा चित्रण गर्दै मन्त्री घिसिङले पर्यटन पूर्वाधार सुदृढ नगरी पर्यटक संख्या वृद्धि सम्भव नहुने बताए । ‘हामी १०–२० लाख होइन, ५० लाख पर्यटकको कुरा गर्छौं । तर आधार के छ ? अहिले पनि १०–१५ लाख पर्यटक मात्रै आउँछन्,’ उनले प्रश्न गरे ।
उनका अनुसार नेपालले भारत र चीनजस्ता छिमेकी देशबाट मात्रै करोडौं पर्यटक भित्र्याउन सके जीडीपीमा ठूलो प्रभाव पर्न सक्छ । तर त्यसका लागि होटल, सडक, हवाई सेवा, सांस्कृतिक तथा पुरातात्विक संरचना पर्याप्त हुनुपर्ने उनले बताए ।
‘पर्यटक आएपछि बस्ने संरचना छ कि छैन ? हाम्रो पुरातत्व के छ ? हरेक वर्ष पर्यटक आउँछन् तर हेर्ने पुरातात्विक सम्पदा छैन,’ उनले भने, ‘पुरातत्व निर्माण र संरक्षणमा हामी गम्भीर हुनुपर्छ,’ उनले भने ।
मन्त्री घिसिङले पोखरामा धार्मिक, साहसिक, व्यापारिक र सांस्कृतिक पर्यटन सबै सम्भावना रहेको बताए । मुक्तिनाथ, साहसिक पर्यटन, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यलाई योजनाबद्ध रूपमा प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए ।
‘पोखरा सुन्दर सहर मात्रै होइन, बहुआयामिक पर्यटन केन्द्र हो । यसलाई व्यवस्थित रूपमा अघि बढाउन सके ठूलो आर्थिक लाभ लिन सकिन्छ,’ उनले भने ।
मन्त्री घिसिङले पोखराको विकासका लागि सडक, हवाई र अन्तरदेशीय कनेक्टिभिटी सबैभन्दा महत्वपूर्ण भएको बताए । उनले काठमाडौँ–पोखरा सडकलाई छोटो र सहज बनाउन मुग्लिन–पोखरा सडक आयोजनामा तीव्रता आएको उल्लेख गरे । ‘लामो समय अल्झिएको यो सडक अब सन्तोषजनक चरणमा पुगेको छ,’ उनले भने ।
काठमाडौँ–नौबिसे–मुग्लिन खण्डलाई पाँच घण्टा बन्द गरेर काम गरिरहेको उनले सुनाए । त्यो सडक वल्र्ड बैंकको सहयोगमा ‘स्मार्ट सेफर रोड’ अवधारणामा काम भइरहेको जानकारी पनि उनले दिए । त्यस्तै, पोखरा–बुटवल कनेक्टिभिटीलाई दुईदेखि तीन घण्टामा झार्ने लक्ष्यसहित एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकको सहयोगमा नयाँ रुट विकास भइरहेको उनले बताए ।
चीनसँगको कनेक्टिभिटीलाई समेत प्राथमिकतामा राखिएको मन्त्री घिसिङको भनाइ छ । ‘जोमसोम हुँदै कोरला नाकासम्मको सडक स्तरोन्नति अत्यन्तै महत्वपूर्ण छ । यसले चीनसँगको व्यापार र पर्यटन दुवैलाई मजबुत बनाउँछ,’ उनले भने ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा प्रयोग सुरु हुन नसकेको स्वीकार गर्दै उनले अन्तर्राष्ट्रिय उडान सञ्चालनमा जोड दिए । ‘जापान, युरोपबाट सीधा पोखरा उडान सम्भव भए पर्यटनमा क्रान्तिकारी परिवर्तन आउँछ,’ उनले भने ।
पोखरालाई हाइड्रोपावर हबको रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको मन्त्री घिसिङले बताए । कालीगण्डकी, मस्र्याङ्दी र सेती करिडोरमा तीन हजार मेगावाटभन्दा बढीका आयोजना विभिन्न चरणमा रहेको जानकारी उनले दिए ।
ट्रान्समिसन लाइन सुदृढीकरणका लागि युरोपियन युनियन, जर्मनी, जापानलगायत अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर ठूलो लगानीमा काम अघि बढेको उनले बताए ।







