विश्व बक्सिङमा चन्द्रको ऐतिहासिक उपलब्धिः जिते काँस्य पदकसहित करोड नगद

नेपाली बक्सिङ खेलाडी चन्द्रबहादुर थापाले संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा जारी ‘आईबीए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप–२०२५’ मा ऐतिहासिक सफलता हात पारेका छन्।

थापाले विश्व बक्सिङको यो प्रतिष्ठित मञ्चमा नेपालका लागि पहिलो पटक ऐतिहासिक काँस्य पदक जित्दै नयाँ इतिहास रचेका हुन्।

शुक्रबार दुबई ड्युटी फ्री रंगशालामा भएको सेमिफाइनल खेलमा चन्द्रबहादुरले आफ्नो खेल जीवनकै उत्कृष्ट प्रदर्शन प्रस्तुत गरे।

उनको भिडन्त सन् २०२० का ओलम्पिक पदक विजेता काजाकिस्तानका बक्सर साकेनसँग भएको थियो। रिङमा कडा टक्कर दिए पनि चन्द्रबहादुरको यात्रा सेमिफाइनलमै टुंगियो भने साकेन फाइनलमा प्रवेश गर्न सफल भए।

सेमिफाइनलमा रोकिए पनि चन्द्रबहादुरले नेपालको बक्सिङ इतिहासमा सुनौलो अक्षरले नाम लेखाइसकेका छन्। अन्तर्राष्ट्रिय बक्सिङ संघ (IBA) ले उनलाई कास्य पदक र ७५,००० अमेरिकी डलर (नेपाली रुपैयाँ १ करोडभन्दा बढी) नगद पुरस्कार प्रदान गरी सम्मान गरेको छ।

नेपाली बक्सिङलाई विश्व स्तरको यो उचाइसम्म पुर्‍याउन निरन्तर खट्ने प्रशिक्षक टोली, नेपाल बक्सिङ महासंघ (NBF), राष्ट्रिय खेलकुद परिषद् (NSC) को ‘मिसन २०२६’ टोली र सम्पूर्ण बक्सिङ प्रेमीहरूको अथक प्रयास र समर्थनका लागि विशेष आभार व्यक्त गरिएको छ।

आफ्नो खेलाडीले प्राप्त गरेको सफलताप्रति नेपाल प्रहरीले थापालाई बधाई व्यक्त गरेको छ ।

Scroll to Top