
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले आज काठमाडौंस्थित अमेरिकी कम्पनी ‘भील एप’ (Veel App) को कार्यालय तथा यसका नयाँ उत्पादनहरूको उद्घाटन गरेका छन्।
नेपाली–अमेरिकी उद्यमी दिलीप ढकालद्वारा स्थापित यो कम्पनीले डिजिटल कन्टेन्ट क्रिएटर र ब्रान्डहरूबीच पुलको काम गर्दै आएको छ।
‘भील एप’ले विश्वभरका कन्टेन्ट क्रिएटरहरूलाई प्रमुख अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग जोड्ने र सहकार्यलाई प्रभावकारी बनाउने उपकरणहरू प्रदान गर्दछ। यसले क्रिएटर तथा ब्रान्डहरूको नाफा र प्रभाव दुवै बढाउन मद्दत गर्ने बताइएको छ।
कम्पनीले हाल अमेरिका र नेपाल दुवै मुलुकमा रोजगारी सिर्जना गरेको छ भने भविष्यमा रोजगारीका अवसरहरू थप विस्तार गर्ने लक्ष्य राखेको छ।
उद्घाटन कार्यक्रममा बोल्दै राजदूत थम्पसनले नेपाल र अमेरिकाबीचको प्रविधि क्षेत्रको साझेदारी (Tech Partnership) बलियो बन्दै गएको उल्लेख गरे। उनले भने, “भील जस्ता अमेरिकी कम्पनीहरूले नेपालमा उत्कृष्ट अवसर पाइरहेका छन्, जसले उनीहरूको व्यावसायिक सेवालाई अझ प्रभावकारी बनाउँछ।”
राजदूत थम्पसनले यस्ता व्यवसायले अमेरिकी क्रिएटरहरूको उत्पादकत्व र लाभ बढाउनुका साथै नेपालमा निजी क्षेत्रद्वारा सञ्चालित आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
नेपाली सीप विकास र ऊर्जा स्रोत सुदृढीकरणमा अमेरिकाको निरन्तर सहयोगसँगै यस्ता प्रविधिमा आधारित उद्यमले दुवै राष्ट्रका लागि नयाँ अवसरहरू सिर्जना गरिरहेको कार्यक्रममा जानकारी दिइयो।







