
विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको अभियोग लागेका नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले ५ लाख धरौटीको आदेश दिएको छ ।
मंगलबार थुनछेक बहसपछि अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य डिल्लीरत्न श्रेष्ठको इजलासले अधिकारीसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको हो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम अदालतले उनीहरूलाई धरौटीमा राखेर पुर्पक्ष गर्ने आदेश दिएको हो । तर, धरौटी बुझाए पनि पूर्वमहानिर्देशक अधिकारी भने तत्काल रिहा हुने छैनन् ।
भक्तपुरको नलिञ्चोकस्थित हेलिपोर्ट निर्माण प्रकरणमा उनी यसअघि नै जेल चलान भइसकेका कारण थुनामै रहनेछन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलको निर्माण लागत अस्वाभाविक रूपमा बढाएर राज्यलाई हानि पुर्याएको दाबी गर्दै मुद्दा दायर गरेको थियो ।
आयोगले प्रतिवादीहरूले स्वीकृत लागत अनुमानभन्दा ७.४३ मिलियन अमेरिकी डलर (करिब ८ अर्ब ३६ करोड रुपैयाँ) बढी भुक्तानी गरेर भ्रष्टाचार गरेको आरोप लगाएको छ ।







