महाधिवेशनको मुखमा सडक बन्द गर्ने निर्णयप्रति बस्नेतको आक्रोश, फिर्ता लिन चेतावनी

santan ads

नेकपा (एमाले) का नेता महेश बस्नेतले पार्टीको महाधिवेशनको समय पारेर नागढुंगा–पिप्लामोड सडक खण्ड बन्द गर्ने सरकारी निर्णयप्रति कडा आपत्ति जनाएका छन्।

आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुन लागेको एमालेको महाधिवेशनलाई लक्षित गरी सरकारले ‘प्रतिशोधपूर्ण’ रूपमा सडक बन्दको निर्णय गरेको बस्नेतले आरोप लगाएका छन्।

ऊर्जा तथा भौतिक पूर्वाधार मन्त्री र कुलमान घिसिङप्रति आक्रामक रूपमा प्रस्तुत हुँदै बस्नेतले भने, ‘एमालेको महाधिवेशन बिथोल्ने नियतसहित सरकार र कुलमानले गरेको यो कदम गलत मात्र होइन, प्रतिशोधको राजनीति हो। याद रहोस्, प्रतिशोधको बदला प्रतिशोध नै हुनेछ।’

सडक विभागले गजुरी खण्डको पोखरेभिर क्षेत्रमा सडक चौडा गर्ने भन्दै मंसिर २४ देखि पुस १ गतेसम्म (बिहान १०:३० देखि दिउँसो ३:३० बजेसम्म) नागढुंगादेखि पिप्लामोडसम्म यातायात बन्द गर्ने निर्णय गरेको थियो।

नेता बस्नेतले उक्त निर्णय तत्काल फिर्ता लिई निर्माण कार्य पुसको पहिलो सातादेखि सुरु गर्न सुझाव दिएका छन्। उनले यो समयमा सडक बन्द गर्नु सरकार र सम्बन्धित निकाय दुवैको हितमा नहुने चेतावनीसमेत दिएका छन्।

Scroll to Top