
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा गण्डकी प्रदेश सरकारले सुशासन, पारदर्शिता र जवाफदेहितासहितको शासन प्रणाली निर्माणमा आफ्नो दृढ प्रतिबद्धता व्यक्त गरेको छ।
भ्रष्टाचारमुक्त समाज निर्माण र सुशासन कायम गर्नु नै आफ्नो मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यसका लागि ‘शून्य सहनशीलता’को नीति अवलम्बन गर्ने जनाएका छन् ।
सरकारले सार्वजनिक स्रोत र साधनको दुरुपयोग रोक्न, सेवा प्रवाहलाई पारदर्शी बनाउन तथा डिजिटल सुशासनको अवधारणालाई प्रभावकारी रूपमा लागू गर्न आफूहरू निरन्तर अग्रसर रहने स्पष्ट पारेको छ।
सुशासनयुक्त भविष्य निर्माणका लागि सरकारको एक्लो प्रयास मात्र पर्याप्त नहुने भन्दै मुख्यमन्त्री पाण्डेले ‘इमानदार नागरिक र जिम्मेवार नेतृत्व’ को मर्मलाई आत्मसाथ गर्न आग्रह गरेका छन् ।
साथै, यस अभियानमा हातेमालो गर्न सम्पूर्ण नागरिक, कर्मचारी तथा सरोकारवाला निकायलाई सहकार्यका लागि आह्वानसमेत गरेका छन् ।







