‎एमाले कास्कीमा प्रतिनिधिका उम्मेदवारहरुको स्वरः इमान्दार कार्यकर्ता, बेइमान नेता

santan ads

नेकपा (एमाले) कास्कीमा महाधिवेशन प्रतिनिधि छनोटपछि चर्को असन्तुष्टि व्यक्त भएको छ । प्रतिनिधिका उम्मेदवारहरुले नेताहरुलाई गरेको विश्वास घातमा बद्लिएको चर्चा एमाले कास्की वृत्तमा चलेको छ ।

आइतबार दिउँसोसम्म प्रतिनिधिको छिनोफानो नभएपछि कार्याकर्ताहरुले पार्टी कार्यालयमा पुगरे चर्को विरोध गरेका थिए ।

प्रतिनिधि छनोटमा केन्द्रिय सदस्यहरुको भुमिकालाई लिएर आलोचना बढेको मात्रै छैन केन्द्रिय संगठन विभागमा उजुरी समेत परेको छ । सल्लाहकार परिषद् सदस्य देवी सुवेदी , एमाले कास्की उपसचिव सन्तु सुवेदी लगायतले प्रतिनिधि छनोटमा असन्तुष्टी प्रकट गर्दै उजुरी हालेका हुन् ।

‎आकाँक्षी धेरै भएपनि निर्वाचन गराउने माग बलियो बन्दै गरेको बेला नेताहरुले सहमतिमै टुग्याउँछौं भन्दै उम्मेदवारहरुलाई हस्ताक्षर गराएर अधिकार लिएका थिए । तर लिएको अधिकारबाट विवेकपूर्ण नभई गुट र व्यक्तिगत स्वार्थ केन्द्रित रहेर निर्णय गरिएको भन्दै चर्को विरोध भएको हो ।

‎‘प्रतिनिधिमा आकाँक्षी उम्मेदवारहरुले नेतालाई आँखा चिम्लिएर विश्वास गरेर हस्ताक्षर गरे तर नेताहरुले बेइमानपूर्ण स्वार्थको राजनीति गरे’, एक प्रतिनिधिका उम्मेदवारले भने ।

केन्द्रमा केपी ओलीलाई नै नेतृत्व मान्ने भएपनि गण्डकी भुगोलमा उप महासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको तलसम्मै गुट चल्ने गर्दछ ।

यि दुईका कार्यकर्ताबीचको लडाईमा पछिल्लो समय विद्या भण्डारी निकट रहेका कृष्ण थापाको भुमिकाको कारण खगराज अधिकारी समुहका प्रभावशाली युवा नेताहरु प्रतिनिधिमा रोकिएका छन् । कास्की इन्चार्जसमेत रहेका थापा लामो समय खगराज अधिकारीको नजिक रहेर काम गरेका पात्र हुन्।

‎पछिल्लो स्थानीय तहको निर्वाचनमा पृथ्वीसुब्बा गुटको अन्तरघातबाट पोखरा महानगरपालिकाको मेयर पदमा पराजित भएको भन्दै त्यसयता थापा अधिकारी गुटबाट चर्कोरुपमा प्रस्तुत हुने गरेका थिए । पछिल्लोपटक पूर्वराष्ट्रपति विद्या देवी भण्डारीको पोखरा भ्रमणका क्रममा थापाले देखाएको सक्रियताले त्यस समय नै गुट परिर्वतन गरेको हल्ला एमाले वृत्तमा थियो ।

भण्डारीलाई भेट्न काठमाण्डौं समेत पुगरे फर्किएपछि थापा गुरुङ निकट नेताहरुसँग गोप्य छलफल र भेटवार्तामा रहेका थिए । त्यसैको परिणाम प्रतिनिधि छनोटमा देखिएको एमाले जिल्ला तहका नेताहरु बताउँछन् ।

‎न्यौपानेलाई रोक्न सफल भए थापा
‎एमाले कास्कीमा युवा नेताका रुपमा प्रभावशाली मानिएका दिलिप न्यौपाने प्रतिनिधि बन्नबाट रोकिएका छन् । पोखरा महानगर कमिटीका पूर्व अध्यक्षसमेत रहेका न्यौपाने लामो समय विद्यार्थी राजनिति गरेका खगराज अधिकारीका विश्वासिला पात्र मानिन्छन् ।

पोखरा महानगरपालिकाको अधिवेशनमा कार्यकर्ताको दोहोरिने मागलाई थाती राखेर सहजरुपमा नेतृत्व हस्तान्तरण गरेका थिए । त्यसयता पार्टीको साधारण सदस्य रहेर निरन्तर पार्टीका पक्षमा वकालत र काम गर्दै आएका उनी पछिल्लो पुस्ताको तर्फबाट आगामी महाधिवेशनमा केन्द्रिय सदस्यको बलियो दावेदारको रुपमा हेरिएको थियो ।

तर थापा र पृथ्वीसुब्बा गुटका पोलिटव्युरो सदस्य जगत विश्वकर्माको सहमतिले उनको नाम प्रतिनिधिको सूचिमा परेन । निष्कलंकित, शालिन र बैचारिक युवा नेताको छवि बनाएका न्यौपानेलाई रोक्नु अघिल्लो पुस्ता नेताले सम्भावना बोकेकाहरु कार्यकर्तालाई निमोठ्ने काम गरेको बुझाई नयाँ पुस्ताका नेताहरुको छ ।

थापा र विकले न्यौपानेसँगै जोडिएका अनेरास्ववियुका निर्वतमान सचिव आर्शिवाद सुवेदीलाई पनि प्रतिनिधि बन्न रोके । सुवेदीलाई सर्मथन गरेका विजय पौडेललाई जर्वजस्त नेताहरुले प्रतिनिधि बनाएका छन् । त्यतिमात्रै होइन एमाले पोखरा महानगर कमिटीका अध्यक्ष जीवन आचार्य पनि प्रतिनिधि बन्न पाएनन् ।

उनको ठाउँमा खगराज अधिकारी निकट मानिएका एमाले कास्की उपाध्यक्ष भेषराज बराल प्रतिनिधि बनाईएका छन् । ‘खगराज अधिकारी निकट भएकै कारण दिलिप, जीवन , आर्शिवाद र विवेक कमरेडलाई रोक्न थापा र जगत कमरेड मिले’, एमाले कास्कीका एक नेताले भने ।

न्यौपानेलाई रोक्न थापा र विक गठजोड बन्नुको अर्को कारण हो , स्थानीय तहको निर्वाचन र पछिल्लो पटक गण्डकी प्रदेशको मन्त्रि बिस्तार ।

स्थानीय तहको निर्वाचनमा विक निकट दिपक पौडेलको टिकट खोसिएपछि थापा उम्मेदवार बने । थापालाई जिताउन ठूलो मिहेनत र मिसन चलाएका न्यौपानेलाई विक पहिल्यैदेखि रुचाउने थिएनन् ।

विकसहितको टिमको असहयोग र अन्तरघातले थापा पोखराको मेयरमा पराजित भएपनि न्यौपानेले गरेको सर्मथन र सक्रियताले रुष्ट थिए । र पछिल्लो पटक कास्कीका समानुपतिका सांसद प्रकाशबहादुर केसीलाई मन्त्री बनाउन ठूलो भूमिका खेलेका थापा सोही समयमा यता न्यौपानेसंग विच्किएका थिए ।

व्यावसायिक घरानाका केसी समानुपातिक सांसद बन्दाबाट नै आलोचना भई राखेको थियो । पछिल्लो पटक खगराज अधिकारी मुख्यमन्त्री हुँदा थापाले प्रकाश केसीलाई मन्त्री बनाउन केन्द्रदेखि जिल्लासम्म दबाब र धम्की दिएका थिए । खगराज निकट नै भएपपिन न्यौपानेले केसीलाई मन्त्री बनाइनु गलत भएको विचार सामाजिक संजालमा पहिलोपटक अभिव्यक्त गरे ।

त्यसपछि अझ चर्कोरुपमा केसीको मन्त्रि नियुक्त विवादास्पद बन्यो । इमान्दाररुपमा पार्टीमा काम गरेका सांसदहरुलाई पाखा लगाएर केसिीको नियुक्ती सहि नभएको कुरा न्यौपानेले सार्वजनिक गरेपछि थापा रुष्ट थिए । सोही कारण जगत र कृष्णले बदलाको भाव राखेर न्यौपानेलाई रोकेको चर्चा एमाले वृत्तमा छ ।

कास्की क्षेत्र नं ३ मा निर्वतमान प्रतिनिधि सभा सदस्य दामोदर बैरागी प्रतिनिधि बन्न पाएनन् । सोही क्षेत्रका पूर्व सांसद रहेका पोलिटब्यूरोसदस्य विकले सहमतिको आवरणमा वैरागीलाई प्रतिनिधि बन्न रोकुका हुन् । एकदिन अगाडीसम्म क्षेत्र नं ३ बाट युवा क्लष्टरमा प्रतिनिधिमा नाम राखिएका विवेक देवकोटा पनि प्रतिनिधि बन्न पाएनन् ।

उनको ठाउँमा विक खेलकुद मन्त्री रहँदा स्वकीय सचिव रहेका भरतमान गुरुङ प्रतिनिधि बनेका छन् । लामो समय अनेरास्ववियुमा काम गरेका देवकोटा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीका निर्वतामान अध्यक्ष हुन् ।

खगराज नजिक हुँदाहँदै भण्डारी गुटमा लागेका थापाले पृथ्वीसुब्बा गुटसंग सहमतिको आवरणमा सम्झौता गरेकै कारण अधिकारी निकटका नेताहरु प्रतिनिधि बन्न रोकिएका हुन् ।
‎‘
आफैं पदाधिकारीको दाबेदारको रुपमा रहेका खगराज अधिकारीले प्रतिनिधि छनोटमा विवाद खोज्नुभएन विश्वास गरेर जिम्मा दिनुभयो तर विश्वास गरेकाले घात गरे’ एक नेताले भने ।

बिहानसम्म जिल्ला अध्यक्षको असहमतिका कारण टुंगिन नसकेको प्रतिनिधि छनोट चर्को दबाबपछि अन्ततः टुंगिएको छ । नेताहरुले सहमति गरेपछि जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री प्रतिनिधिको नाम प्रति सन्तुष्ट थिएनन् । त्यही कारणपनि उनले हस्ताक्षर नगर्दा नेताहरुले छानेको नाम सिफारिस हुन सकेको थिए । तर चर्को दबाबपछि अपरान्ह प्रतिनिधिको नाम जिल्ला पार्टी कार्यालयमा टाँसिएको थियो ।

‎जनप्रतिनिधि नै रोकिए
‎एमाले कास्कीले पठाएको प्रतिनिधि छनोटमा जनताबाट अनुमोदन भएका जनप्रतिनिधिहरुलाई समेत रोकिएको भन्दै सामाजिक सन्जालमा असन्तुष्टी पोखिएको छ ।

संघीय सांसद दामोदर बैरागी , मनबहादुर गुरुङ , प्रदेश सांसद गणेशमान गुरुङ, देवका पहारी, राजकुमारी भुजेल, नन्दकला नेपाली , जिल्ला समन्वय सभापति लिलाधर पौडेल र अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु केसी प्रतिनिधिका उम्मेदवार थिए । तर प्रतिनिधिको लिष्टमा उनिहरु अटेनन् ।

जनताबाट अस्विकृत भएकाहरुले जनताको मतबाट जनताको प्रतिनिधि भएका अनुहारलाई रोकेको भन्दै कार्यकर्ता पंक्तिका चर्को असन्तुष्टि बढेको हो । ‘

जनताले चुनाव हराएका पात्रहरुले पार्टीमा शक्तिको आडमा जनताबाट अनुमोदन भएका अनुहारलाई रोकेर तुच्छ शैलीको राजनीति गरे’, एक जनप्रतिनिधिले भने । प्रतिनिधि टुंग्याउने जिम्मेवारी पाएकामध्य केन्द्रिय सदस्यद्वय थापा र युवा संघ इन्चार्जसमेत रहेका राजीव पहारी पछिल्लो २०७९ निर्वाचनमा पराजित अनुहार हुन् ।

‎यस्तो छ प्रतिनिधिको अंक गणित
‎कास्कीबाट २३ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् । इन्चार्ज र केन्द्रिय सदस्यहरुले टुंग्याएको नाममा १० र १३ को भागबण्डा भएको देखिन्छ ।

कास्की क्षेत्र नं १ बाट बैनबहादुर अधिकारी क्षेत्री, दर्शन लामा, टिकाराम पंगेनी, बेदबहादुर गुरुङ, रक्षा भट्टराई, विजया सुवेदी र नवराज ओझा प्रतिनिधि बनेका छन् । भट्टराई र सुवेदी महिला र ओझा युवा क्लष्टरबाट प्रतिनिधि बनेका हुन् ।

सात जनामध्ये ५ जना अधिकारी निकट छन्, एक गुरुङ निकट रहेका छन् भने एक जना अधिकारीसँगै रहेपनि केपी ओलीको चर्को आलोचना गर्दै आएका छन् ।

क्षेत्र नं २ मा तेज नारायण अधिकारी, भेषराज बराल ,रश्मी आचार्य, रामप्रसाद खनाल खुल्ला तर्फबाट प्रतिनिधि छन् । महिला प्रतिनिधि हिरा गिरी र सिर्जना शर्मा रहेका छन् । युवा क्लष्टरमा विजय पौडेल प्रतिनिधि छन् ।

बराल, आचार्य र खनाल अधिकारी निकट हुन् भने तेज नारायण गुरुङ निकटका रुपमा परिचित छन् ।

यस्तै हिरा पृथ्वी सुब्बा निकट हुन् भने गण्डकी प्रदेश पूर्व उपसभामुख समेत रहेकी शर्मा अधिकारी निकट चिनिन्छन् । तर उनका पति माधव शर्मा पूर्व राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार रहेका कारण शर्माले कसलाई सर्मथन गर्छिन् भन्ने चर्चा एमाले वृत्तमा छ । युवा क्लष्टरका पौडेल भने खगराज निकट हुन् ।

‎क्षेत्र नं ३ को प्रतिनिधि छनोटमा भने पोलिटव्युरो सदस्य विकले एकलौटी गरेको भन्दै चर्को विरोध छ । पूर्व स्वकीयदेखि गुटगत राजनीति गर्नेहरुलाई प्रतिनिधि बनाएको भन्दै कार्यकर्ता विभाजित छन् ।

माधबप्रसाद बास्तोला, दिपक पौडेल, जगन्नाथ बास्तोला, लालबहादुर परियार, शोभा पहारी, गिता बिक, भरतमान गुरुङ प्रतिनिधि बनेका छन् ।

यसमध्ये कास्की जिल्ला कमिटी उपसचिव रहेका परियार मात्रै खगराज अधिकारी निकटका रुपमा चिनिन्छन् ।

‘जगत कमरेडको गुटबन्दी पहिलेदेखि नै हो उहाँले गुट नै गर्ने हो तर खगराज अधिकारीको निकट बसेर उहाँ कै टिमलाई घात गरेका थापा कमरेडका कारण प्रतिनिधि छनोटमा यो अवस्था आयो’, एमाले कास्की क्षेत्र नं ३ का एक नेताले भने ।

‘थापा कमरेडले पूर्व राष्ट्रपतिलाई भेटेको र त्यसयताको गतिविध फरक रहेपनि केआर कमरेडले सहजरुपमा लिएर विश्वास गर्दागर्दै माथिको नेताको आडमा तल उहाँलाई घात भयो’, उनले थपे ।

Scroll to Top