सरकारी तलब खाने स्वास्थ्यका कर्मचारी एमाले महाधिवेशनमा ! ‘एक्सन’मा उत्रँदै मन्त्रालय

santan ads

नेकपा एमालेको आसन्न महाधिवेशनमा बहालवाला सरकारी स्वास्थ्यकर्मीहरू प्रतिनिधि छनोट भएको पाइएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कडा निगरानी सुरु गरेको छ।

सरकारी ओहोदामा रहेका कर्मचारी राजनीतिक गतिविधिमा सक्रिय भएको उजुरी परेपछि मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएको हो।

यही मङ्सिर २७ गते हुने एमाले महाधिवेशनका लागि स्वास्थ्य क्षेत्रबाट छनोट भएका ७ जना प्रतिनिधिमध्ये ४ जना बहालवाला सरकारी कर्मचारी रहेको खुलेको छ।

उनीहरूको नाम र सरकारी पदसहितको विवरण सार्वजनिक भएपछि मन्त्रालयमा उजुरी परेको थियो। उजुरीमा ती कर्मचारीलाई सेवाबाट बर्खास्त गर्न माग गरिएको छ।

स्वास्थ्यमन्त्री सुधा शर्माले सरकारी कर्मचारीहरू राजनीतिक दलको महाधिवेशनमा प्रतिनिधि बनेको तथा विभिन्न भ्रातृ सङ्गठनमा आबद्ध भएको विषयमा मन्त्रालयमा उजुरी परेको पुष्टि गरिन्।

मन्त्री शर्माले भनिन्, ‘हाम्रा कर्मचारीहरू विभिन्न महासङ्घ तथा सङ्गठनका नाममा राजनीतिक दल निकट बनेर प्रतिनिधित्व गरिरहेको पाइएको छ। यससम्बन्धी सबै कागजात अध्ययन गरी ऐन–नियम अनुसार कारबाही अघि बढाउन सचिव डिल्लीराम शर्मालाई निर्देशन दिएकी छु।’

मन्त्रीको निर्देशनलगत्तै सचिव शर्माले प्रक्रिया थालेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले यसअघि मङ्सिर ५ गते नै एक सूचना जारी गर्दै कर्मचारीहरूलाई कुनै पनि राजनीतिक गतिविधिमा नलाग्न निर्देशन दिएको थियो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले प्रचलित कानुन विपरीत गतिविधि गरेको पाइएमा ऐनको दफा ७३ र ७४ अनुसार नसिहत दिनेदेखि सेवाबाट बर्खास्त गर्नेसम्मको कारबाही हुन सक्ने चेतावनी दिएका छन्।

नेपाल स्वास्थ्य सेवा ऐनले कर्मचारीलाई राजनीतिक गतिविधिमा भाग लिन (दफा ५५), राजनीतिक प्रभाव पार्न (दफा ५४) र सरकारको आलोचना गर्न (दफा ५६) पूर्ण रूपमा बन्देज लगाएको छ।

‘नागरिकको स्वास्थ्यसम्बन्धी अधिकार सुनिश्चित गर्ने कर्मचारीको जिम्मेवारी संवेदनशील हुन्छ,’ प्रवक्ता बुढाथोकीले भने, ‘त्यसैले अनुशासन र आचारसंहिता पालना गर्न हामीले सबैलाई आग्रह गरेका छौँ।’

कानुनले स्पष्ट बन्देज लगाए पनि स्वास्थ्य क्षेत्रका तल्लो तहदेखि माथिल्लो तहसम्मका कर्मचारीहरू विभिन्न दल निकट सङ्घ–संस्थामा आबद्ध रहने प्रवृत्ति देखिँदै आएको छ।

एमाले महाधिवेशन प्रतिनिधिमा राष्ट्रिय ट्रमा सेन्टरका दसौं तहका वरिष्ठ चिकित्सक डा. सन्तोष पौडेल, बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी अमृता बराल, सभामुख देवराज घिमिरेको निजी सचिवालयमा कार्यरत अहेव भीमराज सिंह र नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष चन्द्रकला शर्माको नाम रहेको छ ।

Scroll to Top