
पोखरा । आइटिएफ वल्र्ड टेनिस टुर जुनियर्स जे–३० पोखराको ब्वाइज सिंगल्सतर्फ कोरियाका युल हो जुङ र श्रीलंकाका गानुका फर्नान्डो फाइनलमा प्रवेश गर्दा गल्र्सतर्फ नेपालकी शिवाली गुरूङ र चाइनिज ताइपेईकी के–चि सुले फाइनलमा भेट पक्का गरेका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी सर्किट १ अन्तर्गत पोखरा रंगशालामा शुक्रबार सम्पन्न सेमिफाइनलमा कोरयाका युलले प्रतियोगितामा जुनियर शीर्ष वरियताका चाइनिज ताइपेईका टिङ–हो याङलाई ३–६, ६–३, ७–६(१)ले पराजित गर्दै कठिन जित निकाल्दै फाइनलमा स्थान बनाएका छन् ।
अर्काे सेमिफाइनलमा श्रीलंकाका गानुकाले नेपालका प्रणव मानन्धरलाई ६–४, ६–२ को सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरे ।
त्यस्तै गल्र्स सिंगल्सतर्फ चाइनिज ताइपेईकी के–चि सुले भारतकी अनन्या जैनलाई ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउँदै नेपाली खेलाडी शिवाली गुरूङ संग फाइनलमा भेट पक्का गरेकी छन् ।
अर्काे सेमिफाइनलमा नेपालकी शिवाली गुरुङले भारतकी जुनियर दोस्रो वरियताकी कार्तिका पद्मकुमारलाई ६–२, ३–६, ६–१ ले हराउँदै फाइनलमा प्रवेश गरेकी हुन् ।
त्यस्तै ब्वाइज डबल्सतर्फ कोरियाका हियोजिन हा र युल हो जुङको जोडीले भारतका फजल अली मिर र हङकङका सेल्विन युएन वङको जोडीलाई ३–६, ६–३, १०–८ ले हराउँदै उपाधि जितेका छन् ।
यता गल्र्स डबल्सतर्फ शिवाली गुरुङ र के–चि सुको जोडीले भारतकी सौम्या चटर्जी र रञ्जना सग्रामको जोडीलाई ६–२, ६–२ ले पराजित गर्दै उपाधि जिते ।
जारी प्रतियोगिताको सर्किट १ अन्तर्गतको फाइनल खेल शनिबार हुने कास्की टेनिसका अध्यक्ष राज कुमार गुरूङले जानकारी दिएका छन् ।







