
बुद्ध एअरका सञ्चालक एवं गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) का संस्थापक वीरेन्द्र बस्नेतले आफू रहर वा कुनै बाध्यताले राजनीतिमा नआएको स्पष्ट पारेका छन्।
पोखरामा आयोजित ‘पर्यटनमय अर्थतन्त्र’ विषयक अन्तरक्रियामा बोल्दै बस्नेतले भावी पुस्ताको सुख र समृद्धिका लागि आफूले राजनीतिक दल खोलेको बताए।
पछिल्लो समय चर्चामा रहेको ‘जेन जी’ आन्दोलनको कारण वा दबाबले आफू राजनीतिमा आएको भन्ने भाष्य सत्य नभएको उनले जिकिर गरे।
‘मेरो घरको चुल्हो बाल्नका लागि राजनीतिमा आएको होइन,’ बस्नेतले भने, ‘अहिले राजनीति पेसा भएको छ, तर यसलाई पेसा बनाउनु हुँदैन। मुलुकको आर्थिक उन्नति र भावी पुस्ताको भविष्य सुनिश्चित गर्न यो कदम चालिएको हो।’
बेरोजगारी समस्याकै उपजका रूपमा ‘जेन जी’ आन्दोलन भएको उल्लेख गर्दै उनले आफ्नो पार्टीसँग अहिलेको भन्दा पाँच गुणा बढी पर्यटक भित्राउने र उच्च आय हुने मर्यादित रोजगारी सिर्जना गर्ने भिजन रहेको दाबी गरे।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएको समस्याबारे बोल्दै उनले भूराजनीतिक कारणले अवरोध भइरहेको र यसका लागि राजनीतिक इच्छाशक्ति तथा भूराजनीतिक समझदारी आवश्यक रहेको औँल्याए।
कार्यक्रममा पार्टीका अध्यक्ष दिनेश प्रसाईंले ‘जेन जी’ आन्दोलनले नेपालको राजनीति, अर्थतन्त्र र समाज परम्परागत तरिकाले चल्न सक्दैन भन्ने सन्देश दिएको बताए। उनले वि.सं. १९९७ देखि हरेक १०–१२ वर्षमा हुने राजनीतिक आन्दोलनहरू हिंसात्मक बन्दै गएको र यसले अस्थिरता निम्त्याएको विचार व्यक्त गरे।
प्रसाईंले भने, ‘जेन जी आन्दोलनले धेरै कुरा परिवर्तन गरिदिएको छ। सिंहदरबार र अदालतजस्ता राष्ट्रका धरोहर र निजी व्यवसायमा आक्रमण हुनुले स्थितिको गम्भीरता देखाउँछ।’
उनले दलहरूले संरचनागत परिवर्तन र जनअपेक्षा अनुसार काम गर्न नसके अबको पुस्ता (जेन अल्फा) ले अहिलेको पुस्तालाई पनि स्वीकार नगर्ने चेतावनी दिए।







