मेयरको घरमा आगजनी गर्ने रास्वपा नेतासहित नाबालक कारागार चलान

santan ads

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको निवासमा भएको तोडफोड, आगजनी र लुटपाट प्रकरणमा कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सभापतिसहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

गत भदौ २४ गते तथाकथित ‘जेनजी आन्दोलन’का क्रममा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा अदालतले उनीहरूलाई कारागार पठाएको हो।

अदालतको आदेशनुसार जेल चलान हुनेहरूमा रास्वपाका वडा सभापति चन्द्रबहादुर थापा, बिना (विमला) सापकोटा, चीनबहादुर खवास र एक नाबालक रहेका छन्।

उनीहरूविरुद्ध आपराधिक उपद्रव तथा डाँका–चोरीसम्बन्धी अभियोग लगाइएको थियो। सोही अभियोग लागेका चन्द्रबहादुरका भाइ हरिबहादुर थापा भने अदालतले तोकेको २ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।


‘जेनजी आन्दोलन’को दोस्रो दिन पोखरामा सरकारी तथा निजी संरचनामाथि योजनाबद्ध आक्रमण भएको थियो। आन्दोलनकारीले मेयर आचार्यको घर र गाडीमा आगजनी गर्नुका साथै उहाँको निजी व्यवसायमा समेत क्षति पुर्‍याएका थिए।

सोही दिन वरपिपल रिसोर्ट, बगैंचा रिसोर्ट, अंशुभरा स्क्वायर, विभिन्न होटल, पसल तथा सरकारी कार्यालयहरूमा समेत व्यापक तोडफोड र लुटपाट भएको थियो। घटनामा संलग्नविरुद्ध पीडितहरूले प्रमाणसहित ३० वटा किटानी जाहेरी दर्ता गराएका थिए।

प्रहरीका अनुसार उक्त हिंसात्मक आन्दोलनका क्रममा निजी क्षेत्रको मात्र करिब साढे ३ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ भने सरकारी कार्यालयतर्फ २ करोडभन्दा बढीको क्षति भएको छ।

घटनामा संलग्न भएको आरोपमा कास्कीमा हालसम्म ५७ जना पक्राउ परेका छन्। जसमा १४ जना पुर्पक्षका लागि थुनामा गएका छन्, १४ जना धरौटीमा रिहा भएका छन् भने बाँकी २९ जनामाथि प्रहरीले अनुसन्धान जारी राखेको छ।

Scroll to Top