काठमाडौँ विश्वविद्यालयको ढिलासुस्ती: ४० विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षाबाट वञ्चित,

santan ads

काठमाडौँ विश्वविद्यालय (केयू) को परीक्षा तालिकामा भएको चरम ढिलासुस्तीका कारण एमडी/एमएस तहका ४० जना विद्यार्थी (विशेषज्ञ चिकित्सक) नेपाल मेडिकल काउन्सिल (एनएमसी) को विशेष परीक्षा दिनबाट वञ्चित हुने अवस्था सिर्जना भएको छ।

विश्वविद्यालयले समयमै पूरक परीक्षा सञ्चालन गर्न नसक्दा विद्यार्थीहरूले काउन्सिलको परीक्षाका लागि फारम भर्ने म्याद गुमाएका हुन्, जसले गर्दा उनीहरूको व्यावसायिक भविष्य अन्योलमा परेको छ।

पीडित विद्यार्थी समूहका अनुसार उनीहरूको नियमित परीक्षाहरू गत वैशाख महिनामै सकिएका थिए। नियमतः लगत्तै हुनुपर्ने पूरक (सप्लिमेन्टरी) परीक्षाहरू विश्वविद्यालयले करिब ७ महिना ढिलो गरी कात्तिक महिनामा मात्र सञ्चालन गर्यो। उक्त परीक्षा मङ्सिर ८ गते मात्र सम्पन्न भएको छ।

यता, नेपाल मेडिकल काउन्सिलले मङ्सिर १६ र १७ गतेका लागि विशेषज्ञ दर्ता (लाइसेन्स) परीक्षा तोकेको छ, जसका लागि फारम भर्ने अन्तिम म्याद मङ्सिर ४ गतेसम्म थियो। विश्वविद्यालयको परीक्षा नै मङ्सिर ८ गते सकिएकाले विद्यार्थीहरूले ४ गतेसम्मको फारम भर्ने मौका गुमाउन पुगेका हुन्।

परीक्षा तालिका जुध्दा र नतिजाको अन्योलका कारण आफूहरू मारमा परेको भन्दै विद्यार्थीहरूले नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसिएसन (एनएमए) र काठमाडौँ विश्वविद्यालयका पदाधिकारीहरूसँग भेटेर समस्या राखिसकेका छन्।

तर, तीनवटै निकायबाट हालसम्म कुनै ठोस सहजीकरण वा निकास ननिस्किएको विद्यार्थीहरूको गुनासो छ।

“हामी विशेषज्ञ भएर पनि काम गर्न नपाउने अवस्था आयो। हाम्रो समय र मेहनतको कुनै मूल्य रहेन,” एक विद्यार्थीले दुखेसो पोखे, “हामी एक प्रकारले दोहोरो मारमा परेका छौँ।”

विशेषज्ञ चिकित्सक भइसकेर पनि काउन्सिलको परीक्षा दिन नपाउँदा नेपालमा बिरामीको सेवा गर्नबाट वञ्चित हुनुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ।

विद्यार्थी समूहले प्राविधिक कारण देखाई आफूहरूलाई रोक्नुभन्दा मङ्सिर १६ र १७ गते हुने विशेष परीक्षामा सम्मिलित हुने वातावरण तत्काल मिलाइदिन सरोकारवाला निकायसँग जोडदार माग गरेका छन्।

Scroll to Top