विराटनगरको विजयी रफ्तारमा राइनोजको ‘ब्रेक’

santan ads

जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तीन खेलमा जित निकाल्दै शानदार लयमा रहेको विराटनगर किंग्सको विजय यात्रालाई आज चितवन राइनोजले ब्रेक लगाइदिएको छ ।

बुधबार भएको खेलमा चितवन राइनोजले विराटनगरलाई ४८ रनको फराकिलो अन्तरले पराजित गरेपछि विराटनगरको रफ्तारमा ब्रेक लागेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १७५ रनको बलियो लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा १२६ रनमै अलआउट भयो।

विराटनगरलाई सस्तैमा समेट्न चितवनका बलर रन्जित कुमारले सनसनीपूर्ण प्रदर्शन गरे।

विराटनगरको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा रन्जित कुमार एक्लैले ५ विकेट लिए।

आफ्नो ४ ओभरको स्पेलमा उनले मात्र २१ रन खर्चेर विराटनगरको मध्यक्रमलाई धरापमा पारे। उनले साम हेजलेट, बसिर अहमद, नरेन भट्ट, नारायण जोशी र सूर्य तामाङलाई आउट गर्दै चितवनको जित सुनिश्चित गरे।

विराटनगरको सुरुआत नै खराब रह्यो। पावरप्लेमा ४ विकेट गुमाएको टोलीले १० ओभर नपुग्दै ५ विकेट गुमाइसकेको थियो।

तल्लो क्रममा मार्चन्ट डी लांगेले २२ बलमा ३९ रन र प्रतिश जिसीले १२ बलमा ३० रनको आक्रामक इनिङ्स खेल्दै केही आशा जगाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

विराटनगरका कमल ऐरीले २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रन बनाएको थियो।

चितवनका लागि अनुभवी विदेशी खेलाडी रवि बोपाराले ३८ बलमा सर्वाधिक ६५ रन बनाए। उनले ३ चौका र ४ छक्का प्रहार गरे।

यस्तै सैफ जािबले ३२ र देव खनालले २८ रनको योगदान दिए। विराटनगरका सन्दीप लामिछाने र मार्चन्ट डी लांगेले समान २–२ विकेट लिएका थिए।

Scroll to Top