
पोखरा उद्योग वाणिज्य संघको मुख्य आयोजना र कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान) को सहआयोजनामा पोखरामा भव्य मेला हुने भएको छ।
आगामी मंसिर १७ देखि २२ गतेसम्म पोखरा–९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक–२०८२’ सञ्चालन हुनेछ।
संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार मेलामा कुल १९८ स्टल रहनेछन्, जसमा ७८ वटा डोमभित्र र १२० वटा बाहिर हुनेछन्। मेलाको मुख्य उद्देश्य स्वदेशी उत्पादन, कृषि, हस्तकला, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रको प्रवर्द्धन तथा बजारीकरण गर्नु हो।
मेलामा सूचना प्रविधिसँग सम्बन्धित नयाँ आविष्कार र दैनिक जीवन सरल बनाउने उपकरणहरू प्रदर्शनी तथा बिक्रीमा राखिनेछन्। ६ दिनसम्म चल्ने यो मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश निःशुल्क गरिएको छ।
साथै, मेला अवधिभर उद्यमशीलता, नीति निर्माण र नवप्रवर्तनसम्बन्धी विभिन्न बहस तथा परिसंवाद कार्यक्रमहरू पनि सञ्चालन हुने आयोजकले जनाएको छ।







