
लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो साताबाट २१ औं संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजना र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजनामा हुने महोत्सवको पहिलो चरणको तयारीबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
संघले पुस ३ देखि १४ गतेसम्म पोखरा २७ को तालचोकमा महोत्सव गर्दै छ ।
संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक जानुका पराजुली अधिकारीले २०५८ सालदेखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको उल्लेख गरिन् ।
उनले विभिन्न जातजाति, भाषाभाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको जनाइन् ।
महोत्सवका प्रचारप्रसार संयोजक ध्रुवबाबु भटृराईले विषम आर्थिक परिवेशमा मेला, महोत्सव आयोजना गरिनु आफैंमा चुनौतिपूर्ण रहेको बताउँदै व्यवसायी तथा आम सर्वसाधारणको खस्किएको मनोबल उच्च बनाउन र राष्ट्रको अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सव गर्न लागिएको जनाए ।







