सिंहदरबारमा पोखरा स्वास्थ्य विज्ञानको बैठक, उपकूलपति खत्रीद्वारा प्रगति विवरण पेश

santan ads

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार भएको छ ।

प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानको वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ ।

बैठकमा प्रधानमन्त्री कार्कीले प्रतिष्ठानलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह गर्न र गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्न सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएकी छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं प्रतिष्ठानका सहकुलपति डा. सुधा गौतमको समेत उपस्थिति रहेको बैठकमा प्रधानमन्त्री र मन्त्रीले प्रतिष्ठानले छोटो समयमा हासिल गरेका उपलब्धिहरुको प्रशंसा गरे । उनीहरुले आगामी दिनमा संस्थालाई थप सशक्त बनाउँदै आम नागरिकलाई सर्वसुलभ र गुणस्तरीय सेवा दिन पदाधिकारीलाई निर्देशनसमेत दिएका छन् ।

सभामा प्रतिष्ठानका उपकुलपति प्राडा भरतबहादुर खत्रीले प्रतिष्ठानको समग्र कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए । उपकुलपति खत्रीले प्रस्तुत गरेको प्रतिवेदन, आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमाथि सभाका सदस्यहरुबीच छलफल भई आवश्यक निर्णय गरिएको छ ।

प्रतिष्ठानका डीन सहप्राध्यापक ड. डेभिड श्रेष्ठले सञ्चालन गरेको बैठकमा प्रतिष्ठानको शैक्षिक तथा भौतिक सुधारका विविध पक्षमा छलफल भएको थियो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्तरोन्नति गरी बनाइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गण्डकी प्रदेशमा चिकित्सा शिक्षातर्फ महत्त्वपूर्ण फड्को मारेको छ । प्रतिष्ठानले २०७६ सालबाटै स्नातकोत्तर तह (एमडी-एमएस)को शैक्षिक कार्यक्रम सुरु गरेको थियो ।

एमबिबिएस अध्यापन सुरु गरेको प्रतिष्ठानले बिएनएस, बिएससी नर्सिङ लगायतका शैक्षिक कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ ।

Scroll to Top