लोकेशको ‘बम’लाई रोक्न नसकेको ‘विन्डोब्रेकर सट’, अब ‘पुच्छर’ बन्ने छूट छैन

santan ads

नेपाल प्रिमियर लीग (एनपीएल)को दोस्रो संस्करणको खेलमा गत मंगलबार मैदानमा उत्रिएको पोखरा एभेन्जर्सलाई पहिलो गाँसमै ढुंगा लागेको छ ।

एनपीएलको पहिलो सिजनमा कमजोर देखिएका विराटनगर किंग्स, लुम्बिनी लायन्ससँगै पोखराले यसपटक टिममा बलियो मानिएका खेलाडीलाई भित्र्याएको छ ।

नतिजास्वरुप, विराटनगरले पोखरालाई हराएर विजयी सुरुवात गरिसकेको छ । तर, कागजीरुमा बलियो मानिएको पोखरालाई सुरुमै हारको झड्काले ओभरकम गर्ने चुनौति थपिदिएको छ ।

त्यसो त भर्खरै पहिलो खेल खेलेको पोखरालाई अहिले नै उसको खेल विश्लेषण गरेर कुनैपनि टिप्पणी गर्नु मनासिब हुँदैन । यद्यपि, जनकपुर बोल्ट्सलाई जिताउन मुख्य भूमिका खेलेका जिम्मी निसमको पोखरा आगमनको पहिलो खेल सुखद हुन सकेन ।

यसपटकको एनपीएलमा जिम्मी निसममाथि पोखराको ठूलो आशा छ । निसम पहिलोे खेलमा गोल्डेन डकआउट भएपछि आशामाथि भरोसा गर्न कठिन भएको छ ।

त्यसमाथि विराटनगर एनपीएलकै इतिहासमा २ सय २० सबैभन्दा उच्च स्कोर बनाएपछि पोखराले निसममाथि झनै बढी भरोसा गर्नु स्वभाविक थियो ।
विराटनगरका बम लोकेश बमले ४८ बलमा १ चौका र ७ छक्काको प्रहार गर्दै ७२ रन र मार्टिन गुप्टिलले ३५ बलमा ३ चौका र ५ छक्काको मद्दतमा ६१ रन हिर्काएपछि नै पोखरा कमजोर स्थितिमा पुगिसकेको थियो ।

पहाडजस्तो लक्ष्य पच्छ्याएको पोखराले सुरुवाती ब्याटिङ्मा भने विश्वास देखायो ।

मामा (कुशल भुर्तेल)को ५९ र एडम रोस्सिंटनले बनाएको ३९ रनले खेललाई पोखराकै पक्षमा पार्ने सम्भावना देखाएपनि मिडिल अर्डरले आत्मविश्वासले गुमाएपछि पहिलो खेल सम्झन लायक रहेन ।

समग्रमा पोखराको टिम सन्तुलित देखिन्छ ।

तृतराज, किरण ठगुन्ना, अभिषेक तिवारी, म्याट टेलरजस्ता ब्याट्सम्यान चल्न नसक्दा मामाले कमेन्टरी बक्सको शिसा फुटाउने सिक्ससमेत काम लागेन ।

यससँगै निसम, किरण र अभिषेकले हानेको स्टुपिड सट पोखरालाई खेल हराउन प्रशस्त रह्यो ।

पहिलो खेलमा पोखराले बिराटनगरका बलर मर्चन्ट डी लंग र सन्दीप लामिछानेलाई खेल्नै नसकेको जस्तो देखियो ।

पुरै पारी नखेली १८.५ बलमै अलआउट भएपनि १ सय ६७ रन बनाएको पोखराको यो स्कोर आफैमा आशावादी भने हो ।

प्रतियोगिताको दोस्रो खेल पोखराले शुक्रबार सुदूरपश्चिम रोयल्ससँग खेल्दैछ । यो त्यही रोयल्स हो, जसले पहिलो खेल जितेको काठमाण्डौं गोर्खाजलाई १ सय ४८ रनको लक्ष्य दिएर पनि खेल आफ्नो पोल्टामा पार्न सफल रहेको छ ।

पहिलो खेलमैै न्यून स्कोरको बचाउ गरेर हौसिएको सुदूरलाई रोक्न पोखरालाई हम्मे पर्नेछ । यदि, पोखराले जित्ने हो भने खेलाडीमा आत्मविश्वास र ब्याटिङ लाइनमा जिम्मेवारी आावश्यक छ ।

भलै पहिलो खेलमा हारेपनि पोखराले बनाएको १ सय ६७ रनको स्कोर एनपीएलको यस सिजनमा हालसम्म दोस्रो उच्च स्कोर हो । यस सिजनमा खेलिएका खेलमा कर्णालीले चितवनलाई १ सय ६७ को लक्ष्य दिएको थियो ।

काठमाण्डौंसँगको खेलमा सुदूरका हर्मित सिंह सबैभन्दा घातक देखिएका थिए । पछिल्लो क्रममा आएका हर्मितले केवल २० बलमा ५३ रन जोडेका थिए । अन्यथा, सुदूर सबैभन्दा कम स्कोर बनाउने टिममा सामेल हुने थियो ।

सुदूरको ब्याटिङ लाइन ध्वस्त बनाउन काठमाण्डौंका करण केसीको फास्ट बल हतियार साविक भएकाले शुक्रबारको खेलमा पोखराका म्याट टेलर र आकाश चन्द भरपर्दा खेलाडी हुन सक्छन् ।

उनीहरुलाई अलराउन्डरको भूमिकामा रहेका ब्राथवेटले साथ दिए भने ब्याटिङ विशेषज्ञ मानिएका प्रशिक्षक राजीव कुमारको पोखरा सशक्त नैै छ । समस्या छ त केवल ‘जिम्मेवार ब्याटिङमा ।’

खेलको अर्काे पक्ष फिल्डिङ भने पोखराको ठिकठाक देखिएको छ । सम्भवतः यसमा थप सुधारको अपेक्षा गर्न सकिन्छ ।

पहिलो खेलबाट उनै प्रशिक्षक राजीवले के कस्तो विश्लेष्ण गरे, त्यसबाट उनले कसलाई मैदानमा उतार्छन्, शुक्रबारको खेल त्यसैमा निर्भर हुनेछ ।

एनपीएलमा गरेको लगानी, व्यवस्थापकीय कौशल र व्यावसायिक दौडमा अघि बढेको पोखरालाई अब अघिल्लो वर्षजस्तै खेल तालिकाको पुच्छरमा टाँसिन छूट भने कदापि छैन ।

Scroll to Top