
१४औं युरोपेली फिल्म महोत्सव (इयुएफएफ) अब पोखरामा आयोजना हुने भएको छ ।
नेपालस्थित युरोपेली युनियनको प्रतिनिधिमण्डलले शुक्रबार (२१ नोभेम्बर) देखि पोखराको चिप्लेढुंगास्थित ट्रेड मलको क्युएफएक्स सिनेमाजमा महोत्सव सुरु हुने जानकारी दिएको हो ।
महोत्सवको उद्घाटन शुक्रबार साँझ ५ बजे हुनेछ । उदघाटन समारोहमा मार्ता सविनाद्वारा निर्देशित १ घण्टा ३७ मिनेट लामो फिल्म ‘द गर्ल फ्रम टुमरो’ देखाइनेछ ।
सन् १९६५ को सिसिलीको परिवेशमा आधारित यो फिल्मले परम्परालाई चुनौती दिँदै जबरजस्ती गरिने विवाह अस्वीकार गरेर न्यायका लागि लड्ने सशक्त पात्र लियाको कथा बोकेको छ ।
युरोपेली युनियनको यो सांस्कृतिक अभियानअन्तर्गत शनिबार र आइतबार (२२ र २३ नोभेम्बर)मा फिल्महरूको सार्वजनिक प्रदर्शन हुनेछ ।
महोत्सवमा ५ वटा युरोपेली फिचर फिल्म, ६ वटा बाफ्टामा मनोनित सर्ट फिल्म र ९ वटा नेपाली सर्ट फिल्म गरी कुल २० वटा फिल्म देखाइने आयोजकले जनाएको छ । दर्शकले यी फिल्महरू निःशुल्क हेर्न पाउनेछन् ।







