पोउवाको व्यापार मेलालाई मणिपालको साथ

santan ads

पोखरा उद्योग वाणिज्य संघले वर्षेनी आयोजना गर्दै आइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको ३४ औं संस्करण तथा १३ औं क्यान इन्फोटेक २०८२ सँग नेपाल मणिपाल अस्पताल जोडिएको छ ।

३४ औं संस्करणको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२’ यही मंसिर १७ देखि २१ गतेसम्म पोखरा ९,नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुँदैछ ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की तथा नेपाल मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी निर्देशक अनिल ओडुभिलले मेलामा सहकार्यका निम्ति हस्ताक्षर गरेसँगै अब मेलाको नाम नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक पोखरा २०८२’ हुने भएको छ ।

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य संघका सदस्य तथा सफल व्यवसायीहरुको लगानी नेपाल मणिपाल अस्पतालसँगको सहकार्यले नयाँ सन्देश दिन सफल भएको धारणा राखे ।

‘हाम्रा अग्रजहरुले पोखरालाई शिक्षा,स्वास्थ्य,पर्यटन र व्यावसायिक कृषिको सहरको रुपमा परिकल्पना गरे अनुरुप संघले काम गर्दै आइरहेको छ,’ अध्यक्ष कार्कीले भने,

‘हामीले आयोजना गर्ने मेला त्यही उद्देश्यमा समर्पित छ । अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित स्वास्थ्य संस्था मणिपालसँग सहकार्यले पोखरालाई स्वास्थ्यको सहर बनाउन थप योगदान दिने छ ।’

संघका अध्यक्ष कार्की पोखराको स्वास्थ्य क्षेत्रले गुणस्तरीय सेवा दिन सके यो विश्वकै मान्छेका लागि आरोग्यता खोज्ने थलो हुनसक्ने धारणा राख्छन् ।

संघकी महासचिव शोभा गौतमले नेपाली लगानीलाई प्रोत्साहित गर्नु र नेपाली व्यवसायीको मनोवल उकास्नु संघको उद्देश्य भएको चर्चा गर्दै पछिल्लो समय पोखरेलीकै लगानी रहेको नेपाल मणिपाल अस्पतालसँगको सहकार्यले पोखरालाई स्वास्थ्यको सहरको रुपमा चिनाउने धारणा राखिन् ।
नेपाल मणिपाल अस्पतालका प्रमुख कार्यकारी निर्देशक अनिल ओडुभिलले नेपाल मणिपाल कलेज पोखरालाई स्वास्थ्य लाभको केन्द्र बनाउने दिशामा निरन्तर अगाडि बढेको जानकारी गराए ।

मणिपालले हाल प्रदान गरिरहेको सेवा विश्वस्तरीय रहेको बताउँदै उनले भने,‘हाम्रोमा सस्तो शुल्कमा विश्वस्तरको गुणस्तरीय चिकित्सा सेवा पाइन्छ ।’ नेपाल मणिपाल अस्पतालले पोखरा उद्योग वाणिज्य संघबाट विभिन्न समयमा प्राप्त सहयोगको पनि उनले स्मरण गरे ।

Scroll to Top