
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलनमा गणतन्त्रवादी नेताहरु ज्यान जोगाउन हेलिकप्टर चढेर भागेको भन्दै त्यसलाई आफ्नो भनाई पुरा भएको उल्लेख गरेका छन् ।
पोखरा महानगरपालिका कार्यसमितिको नगर अधिवेशन उद्घाटन गर्न पोखरा आएका अध्यक्ष लिङ्देनले एमाले, कांग्रेसलगायतका ठूला भनिएका दलका नेताको कार्यशैली गलत भएको भन्दै उनले उक्त चेतावनी दिएको बताएका थिए । ।
‘मैले नेताहरुलाई भाग, भाग्न नसके हेलिकप्टरको व्यवस्था गरिदिन्छु भन्दा पत्याएनन्’ उनले भने ‘त्यसलाई खिसिट्युरी मानेर मलाई उडाए, तर उनीहरु ज्यान जोगाउन हेलि चढेरै भागे ।’
भ्रष्ट नेताहरुका दिनगिन्ती सुरु भएको भन्दै उनले जेनजी आन्दोलनपछि राप्रपामात्र स्वच्छ पार्टी भएकोसमेत उल्लेख गरे ।
राप्रपा हिन्दू राज्य र राजसंस्था स्थापना गर्न कटिबद्ध भएको उनले सुनाए । यद्यपि, राजालाई एमाले र कांग्रेसकै बुई चढाएर दरबार भित्र्याउने उनको दाबी छ ।
हामीले धैर्य गर्नुपर्छ, गणतन्त्रवादीहरु नै राजा चाहियो भन्दै आउछन् उनले भनेका छन् ‘त्यो दिन टाढा छैन, अस्ति आन्दोलनबाट उनीहरुको चेत फेरिएको छ ।’
अधिवेशनमा महामन्त्री डा. धवल शमसेर जबराले जनमत संग्रह भए राजा तत्काल फर्कने दाबी गरे ।
तर आन्दोलन गर्न भने सही समय पर्खन भन्दै उनले दुर्गा प्रसाईजस्ता व्यक्तिबाट भने झनै भद्रगोल अवस्था आउने जनाए ।
‘दुर्गाजीको तीनकुनेमा भएको आन्दोलनबाटै थाहा भयो, उहाँको क्षमता’ राणाले भने ‘फेरि आन्दोलनको घोषणा गर्नुभएको छ, उहाँलाई शुभकामना ।’
वक्तव्यकैक्रममा राणाले अध्यक्षलाई निर्र्धारित समयमै केन्द्रिय महाधिवेशन गर्नुपर्ने भन्दै आफु अध्यक्षमा चुनाव लड्ने संकेत गरेका छन् ।
अधिवेशनको उद्घाटनमा नेता हेमजंग गुरुङ, खुश्बु ओली, हिक्मत कार्कीलगायतले सम्बोधन गर्दै शुभकामना व्यक्त गरेका छन् ।







