
मेक्सिकोका अनुसन्धाता एवं विश्वविद्यालयका प्राध्यापक एडुआर्डो रिंकन हालै पोखरामा भेटिए ।
पछिल्लो समय खेतबारीमा उब्जने अनाज, फलफुलमा रासायनिक मलको बढ्दो प्रयोगले मानव शरिरमा विष भरिन थालेको भन्दै रिंकन न्यूरोडस्थित र्यान्डम रिडर्स सोसाइटीमा स्थानीयसँग गफिइरहेका थिए ।
अध्येता रिंकन बायोडाइनामिक फार्मिङ (जैविक गतिशील कृषि)को महत्वबारे विश्वमा अभियन्ताकारुपमा काम गरिरहेका छन् । र्यान्डम आयोजित कार्यक्रमका मुख्य वक्ताकारुपमा आएका उनी मानव जीवन, प्रकृति र जैविकतामिश्रित खेती प्रणालीबारे सुनाइरहेका थिए ।
‘पहिले म निकै धनी थिए, खेतबारीमा दिनभर काम गरेर आनन्दको जीवन थियो’, रिंकनले सुनाए ‘अहिले म सँग गोजीमा र कार्डमा नगद छ तर जीवन निरश छ ।’
नेपालजस्तो देशका युवाले जैविक खेतिमा लाग्न आवश्यक भएको बताउँदै उनले भने ‘जवानीमा यताउता गर्ने अनि बुढेशकालमा कृषितर्फ फर्कने काम आफैमाथिको ठगी हो ।’
टुक्रे खेतिबाट लाभ लिन नसकिने भन्दै उनले ठूलो आयतनमा सामुहिक खेती प्रणालीबाट कृषकलाई अघि बढ्न राज्यले नीति बनाउनुपर्ने उनको जोड थियो ।
मेक्सिको कृषकहरुलाई यही प्रणालीबाट अघि बढाइएको सुनाउँदै उनले त्यसको लाम सानो तहदेखि राज्यलेसमेत पाउने उनको भनाई छ ।
‘नेपालमा बायोडाइनामिक खेती प्रणाली महंगो पर्दैन’ उनले भने ‘यहाँ प्रशस्त जल, जंगल छ, यसबाट जैविक खेती कम खर्चिलो हुन्छ ।’
रासायनिक मलको प्रयोगले खेतबारीबाट विष फल्न लागेको सुनाउँदै उनले माटोको उपचार गर्न जैविक कृषि अंगाल्न ढिलो भएको जिकिर गरे ।
‘माटो बिरामी हुनु भनेको मान्छे बिरामी हुनु हो’ उनको सटिक भनाई छ ।
उक्त कार्यक्रममा पत्रकार नारायण वाग्लेले सहजीकरण गरेका थिए ।







