होटलको मेनुमा ‘मुख्यमन्त्री’को पद !

santan ads

दिपक के श्रेष्ठ

मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सोमबार बिहान के त्यस्तो आपत आइलाग्यो कुन्नी ! उनी चारै बजे बिरामी भएको कारण जनाउँदै जनकपुरबाट महोत्तरीको बर्दिबासस्थित होटल पानस कटेज पुगिन् ।

र, होटलबाटै एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरिन् ।

आज नेपाली कांग्रेसले अन्य दलसँग सहकार्य गर्दै मुख्यमन्त्री नियुक्त गर्ने अभ्यास चालिरहेकाबेला प्रदेश प्रमुखले रेष्टुरेन्टको सस्तो टेबलपोसमा यादवलाई मुख्यमन्त्रीको प्रमाणपत्र थमाइदिइन् ।

प्रमाणपत्र दिइरहेको तस्बिर हेर्दा प्रदेश प्रमुख पौडेल केही लजाएको आभास हुन्छ । यसको अर्थ उनलाई रातारात होटल पुगेर यस्तो कर्म गराउन गुण्डुबाटै आदेश आएको लख काट्न सकिन्छ ।

किनकी उनलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश प्रमुख बनाएको हो । यस कदम प्रदेश प्रमुख भण्डारीको सोंच नभएर एमाले अध्यक्ष ओलीकै निर्देशनबाट मात्र सम्भव छ ।

भण्डारीले यादवलाई कार्यकालको शुभकामनामात्रै दिएकी छैनन् उनले त यस कदम (हर्कत)लाई संवैधानिक भन्न समेत भ्याइसकेकी छिन् ।

प्रदेश प्रमुखले जारी गरेको नियुक्तिपत्रमा भनिएको छ– ‘नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम तपाईँलाई मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेको छु । मुख्यमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा कार्यकालको सफलताको कामना गर्दछु।’

कांग्रेसले एमालेको गठबन्धन छाडेर माओवादी र मधेसवादीको साथमा सरकार बनाउन तयार थियो । तर भण्डारीले संवैधानिक अधिकार भन्दै बर्दिबासको होटलमै यादवलाई मुख्यमन्त्री बनाएपछि पानस कटेजको मेनुमा मुख्यमन्त्री पनि रहेको व्यंग्य गरिएको छ ।

पूर्व नेकपा एसकी नेतृ आरती लामाले व्यंग्यपूर्वक लेखिन् ‘बेलुकि रेस्टुरेन्ट तिर यसो भेट्घाट , खाजा खाउ भनेर गएको सपथ खाएर फर्किनु भएछ त? मेनुमा मोमो चाउमिन जस्तै मुख्यमन्त्रीको पद पनि थियो कि क्या हो?’

मधेशमा रातारात भएको राजनीतिक खेलप्रति नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल एक्समार्फत् अ-राजनीति र प्रहसन भनेका छन् ।

‘मधेश प्रदेशमा भएको ‘अ–राजनीति’ दुःखद छ । नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउने यो घटना निन्दनीय छ’, उनले भनेका छन्, ‘संविधानको धारा १६८ (२) अन्तर्गत सरकार बन्ने सम्भावना हुँदाहुँदै पनि मञ्चन गरिएको ‘प्रहसन’लाई न्यायालयले सच्याउने अपेक्षा छ ।’

त्यस्तै, प्रदेश प्रमुख भण्डारीको निर्णयलाई एमालेले संविधानसम्मत भनिरहँदा कांग्रेस र माओवादीले राजनीतिक ‘नाटक’को संज्ञा दिएका छन् ।

यतिबेला भने उनै कांग्रेस र माओवादीले मुख्यमन्त्रीको कार्यालयमा नाराबाजी गर्दै तोडफोड गरिरहेको छ । र, राजनीतिक दलका नेता, कार्यकर्ता भनिरहेका छन् ‘हम नहि सुधरेंगे ।’

Scroll to Top