
पोखराको निजी क्षेत्रले जेन–जी आन्दोलनपछि खल्बलिएको व्यावसायिक वातावरण सङ्लो बनाउन तथा सुरक्षाको प्रत्याभूतिसहित व्यवसायीहरुको मनोवल उकास्नका निम्ति जेन–जी पुस्तासँग सहकार्यको हात अगाडि बढाएको छ ।
जेन–जी पुस्ताका पोखरामा रहेका तथा सम्पर्कमा आएका प्रतिनिधिहरुसँगको पटक–पटकको छलफलपछि जेन–जी र उद्योगी/व्यवसायीबीच सहकार्यको वातावरण निर्माण भएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए ।
छलफलको क्रममा जेन–जी प्रतिनिधिहरुले निजी क्षेत्रलाई थप लगानीको लागि प्रोत्साहित गर्न तथा भयरहित वातावरणमा आफ्नो उद्योग/व्यवसाय संचालनका लागि सघाउने प्रतिवद्धता जनाएका पनि अध्यक्ष कार्कीको भनाइ छ ।
यसअघि पोखराको विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने निजी क्षेत्रका प्रतिनिधिहरुको भेलाले पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको संयोजकत्वमा ‘व्यावसायिक वातावरण निर्माण एवं सुरक्षा समिति’ गठन गरिएको थियो ।
सो समितिमा व्यापक छलफलपछि व्यावसायिक वातावरण निर्माण,शान्ति सुरक्षाको प्रबन्ध र व्यवसायीलाई आश्वस्त पार्ने कार्यमा जेन–जी पुस्ताले पनि सहभागी गराउने निर्णय भएको थियो ।
सोही निर्णय अनुसार आह्वान गरिएको संवादमा जेन–जी पुस्ताको प्रतिनिधित्व गर्दै पोखरामा उपलब्ध तथा सम्पर्कमा आएका आर्यनकुमार जैयसवाल, सरोज पराजुली, अनुप घिमिरे, सन्देश पराजुली, रोशनी गुरुङ र पूजा फगामीले सहभागिता जनाएका थिए ।
जेन–जी प्रतिनिधिहरुसँग आन्दोलनमा भएको घुसपैठबाट सिर्जित परिस्थितिलाई मनन गर्दै तोडफोड, लुटपाट र आगजनीजस्ता आपराधिक कार्यमा संलग्नमाथि कारवाही तथा क्षतिपूर्तिको लागि सरकारसँग माग गर्ने निर्णय भएको छ ।
जेन–जी आन्दोलनको क्रममा पोखराको निजी क्षेत्रले साढे २ अर्बभन्दा बढी क्षति ब्यहोरेको प्रारम्भिक अनुमान छ ।
‘व्यावसायिक वातावरण निर्माण एवं सुरक्षा समिति’ उद्योगी/व्यवसायीको गिरेको मनोबल उकास्नका निम्ति प्रशासन तथा सुरक्षा निकाय,राजनीतिक दल र नागरिक समाजसँगसमेत हातेमालो गरिने पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए ।







