देशको सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब नाघ्यो

santan ads

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको सुरुमा २६ खर्ब ७४ अर्ब ४ करोड रहेको कुल सार्वजनिक ऋण असोज मसान्तसम्ममा ५० अर्ब ६० करोड रुपैयाँले वृद्धि भएको हो।

हाल कुल सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.६१ प्रतिशत हो। असोज मसान्तसम्ममा कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५३.९ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.९१ प्रतिशत रहेको कार्यालयले जनाएको छ।

ऋण व्यवस्थापन कार्यालयका अनुसार, चालु आर्थिक वर्षमा कुल ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा असोज मसान्तसम्म १ खर्ब ८४ करोड रुपैयाँ ऋण प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको १६.९३ प्रतिशत हो।

यसमध्ये बाह्य ऋण प्राप्तिको प्रगति क्रमशः २४.८६ प्रतिशत र ४.६४ प्रतिशत रहेको छ। कुल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक ऋणको हिस्सा ८९.२४ प्रतिशत र बाह्य ऋणको हिस्सा १०.७६ प्रतिशत रहेको छ।

चालु आर्थिक वर्ष २०८२/८३ मा ऋण सेवा खर्चका लागि ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा असोज मसान्तसम्म १ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ भुक्तानी भइसकेको छ। यो वार्षिक बजेट विनियोजनको २६.७४ प्रतिशत हो।

कुल गार्हस्थ्य उत्पादनको आधारमा असोज मसान्तसम्ममा कुल ऋण सेवा खर्च १.८० प्रतिशत रहेको छ।

Scroll to Top