पत्रकार किशोरलाई महेश बस्नेतले भने -‘म काटिन तयार छु, तँ काटिन तयार छस् ?’

santan ads

एमाले नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले जनआस्था साप्ताहिक र पत्रकार किशोर श्रेष्ठलाई तीव्र शब्दमा चुनौती दिएका छन् ।

जनआस्थाले ‘पोस्तादाना खरिद प्रकरणमा बस्नेत टार्गेटमा परेका छन्’ भन्ने समाचार प्रकाशित गरेपछि बस्नेतले फेसबुकमार्फत् ती आरोपलाई “पूर्णतः कपोलकल्पित र भ्रम फैलाउने” भन्दै कडा प्रतिक्रिया दिएका हुन् ।

बस्नेतले लेखेका छन्, “म उद्योगमन्त्री भएको समय २०७१ भदौदेखि २०७२ असोजसम्म हो । त्यसबेला प्रधानमन्त्री सुशील कोइराला र अर्थमन्त्री रामशरण महत हुनुहुन्थ्यो । उद्योग मन्त्रालयको कार्यक्षेत्रमा पोस्तादाना खरिदजस्ता विषय पर्नै सक्दैन ।” उनले समाचारमा उल्लेख गरिएको नाम र प्रसंग “कल्पनाको भरमा रचिएको” दाबी गर्दै पत्रकार किशोर श्रेष्ठलाई चुनौती दिए — “समाचार पुष्टि गर, म काटिन तयार छु। पुष्टि गर्न नसके, काटिन तयार छस्?”

बस्नेतको यो कठोर प्रतिक्रिया सामाजिक सञ्जालमा भाइरल बनेको छ । कतिपयले बस्नेतको अभिव्यक्तिलाई ‘साहसिक जवाफ’ भनेका छन् भने केहीले यसलाई ‘अत्यधिक आक्रामक प्रतिक्रिया’ बताएका छन् ।

यसबारेमा जनआस्था र पत्रकार किशोर श्रेष्ठले ‘बिनम्र आग्रह छ-मेरी दिवङ्गत मातालाई समेत अश्लिल गालीसहित धम्कीका म्यासेज दिने काममा कार्यकर्ता खटाउन छाडेर तपाईं आफै सीधै हामीलाई मार्न आउनोस् न है !’ भनेका छन् ।

बस्नेतको भनाई जस्ताकोतस्तैः

जनआस्था र किशोर श्रेष्ठलाई खुल्ला चुनौती:

उद्योगमन्त्री भएको अवधि २०७१ भदौदेखि २०७२ असोजसम्म हो। त्यस समयमा प्रधानमन्त्री सुशिल कोइराला र अर्थमन्त्री रामशरण महत हुनुहुन्थ्यो।

उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय र आपूर्ति मन्त्रालय तिनवटा छुट्टाछुट्टै मन्त्रालय थिए। कृषि उत्पादन वा वस्तु निर्यात गर्दा नेपालमा वाणिज्य मन्त्रालय र (Department of Commerce / Department of Food Technology & Quality Control) ले गर्ने हो । तत्कालीन उद्योग मन्त्रालयको कामको क्षेत्र भित्र यो पर्दैन ।

यसमा कल्पनाको भरमा एउटा भाइको नाम उल्लेख गरेछ त्यो भाइसँग त्यो दौरानमा मेरो परिचय पनि भइसकेको थिएन

मेरो बारेमा कपलकल्पित समाचार फैलाएर भ्रमको खेती गर्दै पटक–पटक मेरो विरुद्ध लेख्ने किशोर श्रेष्ठलाई म खुल्ला चुनौती दिन्छु। यो समाचार पुष्टि गर म काटिन तयार छु। पुष्टि गर्न सकिनस् भने त काटिन तयार छस?

Scroll to Top