
काठमाडौँमा ड्युटीमा खटिएका बेला हत्या गरिएका प्रहरी सहायक हवल्दार अमृत गुरुङको हत्या आरोपमा एक जनालाई कारागार चलान गरिएको छ।
कास्कीको रुपा गाउँपालिका वडा नम्बर ५ का ३१ वर्षीय गुरुङको हत्यामा संलग्न रहेको आरोप लागेका कैलाली लम्कीचुहा नगरपालिका ४ का १९ वर्षीय अनुपम भण्डारीलाई जिल्ला अदालत काठमाडौँको आदेशअनुसार थुनामा राखिएको हो।
गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा कोटेश्वर प्रभागमा कार्यरत गुरुङलाई आन्दोलनकारीले ढुंगा, फलामको रड र चक्कु प्रहार गरी सडकमा घिसारेका थिए।
अचेत र रगताम्मे अवस्थामा सडकमै छाडिएका गुरुङलाई स्थानीयले बीएण्डबी अस्पताल ग्वार्को पुर्याए पनि सोही दिन उनको निधन भएको थियो।
निषेधाज्ञाको समयमा कर्तव्यपालनाका क्रममा आफ्ना पतिको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गुरुङकी पत्नी कान्ती गुरुङले जाहेरी दिएकी थिइन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले इलाका प्रहरी कार्यालय लम्कीको सहयोगमा असोज १३ गते भण्डारीलाई कैलालीबाट पक्राउ गरेको थियो। भण्डारीले बयानका क्रममा हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका थिए।
यस घटनाअघि महाराजगञ्ज वृत्तका दुई प्रहरीको हत्या आरोपमा चार जनालाई कारागार चलान गरिसकिएको छ।
प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिको खोजी गरी अनुसन्धान जारी राखेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।







