
कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप ह्वात्तै बढ्दै त्यहाँको सबै होटल भरिएका छन् ।
शुक्रबार मात्र ३ हजारको हाराहारीमा पर्यटक घान्द्रुक पुगेपछि होटल सञ्चालकलाई व्यवस्थापन गर्न हम्मे परेको खबर छ । ।
शुक्रबार घान्द्रुक पुगेकामध्ये ५ सय जति बास नपाएर फर्कनु परेको को घान्द्रुक पर्यटक व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।
‘तिहार सकिए लगत्तै पर्यटकको राम्रै चहलपहल छ । सबैभन्दा बढि हिजो ३ हजारको हाराहारीमा पाहुना आएका थिए । केही फर्किए पनि,’ उनले भने, ‘घान्द्रुकमा एकदमै राम्रो छ अहिले चाडबाड सकिएकाले पनि होला ।’
घान्द्रुक भरिभराउ हुँदा पाहुना व्यवस्थापनमा हम्मे हम्मे परेको अध्यक्ष गुरुङको भनाइ थियो । घान्द्रुक जाने योजना बनाएका पाहुनाहरुलाई एकपटक जानकारी लिइ अग्रिम बुकिङ गरेर मात्र आउन उनको आग्रह छ ।
‘घुम्न आएका पाहुनाहरूलाई बास छैन भनेर फर्काउन पनि भएन । हामीले मिलाएर त राखेकै छौं,’ अध्यक्ष गुरुङले भने, ‘पाहुनाहरूको सुविधाका लागि उहाँहरू आफैले सिजनको समयमा हामीसँग समन्वय गरेर आउनुभयो भने राम्रो हुन्थ्यो ।’
घान्द्रुकले एक रातमा २ हजार देखि २२ सय पर्यटक राख्ने सक्ने उनले बताए । यसका लागि ६३ वटा होटल र ३७ होमस्टे छन् । यदि पाहुना बढी भएको अवस्थामा गाउँको घरहरूमा व्यवस्थापन गर्न सकिने अध्यक्ष गुरुङले बताए ।







