nepali women's national footbal team

महिला फुटबल : नेपाल र इरानको खेल आज

भारतमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली आज इरानसँग खेल्दैछ।
भारतको सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा हुने खेल नेपाली समयअनुसार शुक्रबार साँझ ६ः१५ बजे सुरु हुनेछ।

सावित्रा भण्डारीको कप्तानीमा रहेको नेपालले इरानलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ। इरान पनि आफ्नो विजयी यात्रालाई कायम राख्न चाहन्छ।

पहिलो खेलमा इरानले घरेलु टोली भारतविरुद्ध २–० को जित निकालेको थियो।

पछिल्लो पटक इरान नेपालको भेट सन् २०१९ मा भएको थियो। भारतकै कालिङ्गा रङ्गशालामा भएको हिरो महिला कप फुटबल प्रतियोगितामा नेपाल विजयी भएको थियो।

नेपाली टोलिमा कप्तान भण्डारी साम्बासहित अनिता बस्नेत, अञ्जना राना मगर, एञ्जिला तुम्बापो सुब्बा, बिमला बिक, दीपा शाही, हिराकुमारी भुजेल, मनमाया दमाई, मिना देउवा र निशा थोकर छन्।

त्यस्तै नेपाली टिममा प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सबिता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु र उषा नाथ छन्।

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान साम्बाले इरानविरुद्ध मैदानमा उत्रिन आफूहरू सबै हिसावले तयार भएको बताएकी छन्।

फिफा बरियतामा इरान ७०औँ स्थानमा छ भने नेपाल ८९औँ स्थानमा छ।

Scroll to Top