‘हामी सबै याद राख्नेछौं’ – रक्षा बम

santan ads

रक्षा बम

देशका लागि ज्यान दिनेहरूलाई आतंककारी भन्ने ? देश लुट्नेहरूको लागि के के हो कुटी बनाउने? देशमा भ्रष्टाचारको जालो हटाउनुपर्छ भन्ने निहत्था विध्यार्थीहरूलाई गोली दाग्ने? आफ्नो छेउको साथी रक्ताम्मे भएर ढल्दा आन्दोलनमा छाती मै गोली थाप्न जानेहरूलाई विदेशी दलाल भन्ने हरू तिमीहरू मान्छे नै हौ? तिमीहरू अन्न नै खान्छौ नी??

आन्दोलनका ती दिन सम्झिँदा अझै मुटु काँप्छ। त्यो दिनको ट्रमा अझै छ।आजको दिनमा ति दिदी बहिनीहरू जसले आफ्नो दाई भाई गुमाएका छन् उनीहरूको रोदन सुन्दा आंग जिरींग हुन्छ। देश बिग्रियो ,देश सक्यो भन्छौ तिमीहरूका लागि के हो देश भनेको? को अटाउँछ यो देशमा? जसले देशको रगत बगाए उनीहरू अटाउँछन् कि अटाउँदैनन् यो देशमा? जातकै कारण मारिएका नवराज विकहरु अटाउँछन् कि अटाउँदैनन् ?

सिटामोलको अभावमा आँशु पिएर बाँचिरहेका कर्णालीबासीहरू अटाउँछन् कि अटाउँदैनन् ? उचित शिक्षाको अभावमा परेका सुदूरका विद्यार्थीहरु अटाउँछन् कि अटाउँदैनन् ? सीमानामा जंगे पिलर कुरेर बसेका मधेसी समुदाय र आफ्नो पहिचानका लागि लडिरहेका थारूहरु अटाउँछन् कि अटाउँदैनन् ? अल्पसंख्यक र सीमान्तकृत समुदाय अटाउँछन् कि अटाउँदैनन् ?

अरू सबै दलाल ? तिमीहरूमात्रै देशप्रेमी? तिमीहरूका लागि सिमाना मात्रै देश होला तर हाम्रो लागि यो सिमाना भित्र बाँचिरहेका समुदाय, संघर्षरत व्यक्तिहरू, यहाँ बोलिने भाषाहरू, जीवन्त संस्कृतिहरू र यहाँको मनोरम प्रकृति पनि देश हो।

देशका लागि शहिद भएकाहरूको रगतले यो देशको जमिन चिसो भएको छ। उनीहरूको नाम इतिहासले चिन्नेछ र कदर गर्नेछ। र हामी तिमीहरूलाई सम्झाइरहनेछौं कि कसरी तिमीहरूले यहाँका नागरिकहरूमाथि अन्याय गरेका थियौ।

हामी सबै याद राख्नेछौं।

Scroll to Top