जेन-जी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका ८१ कैदी पक्राउ परेका छन्।
कारागार व्यवस्थापन विभागले २० असोजभित्र स्वस्फूर्त फर्किन अपिल गरेकामा हाजिर नभएपछि कास्की प्रहरीले कैदीहरूको खोजी थालेको थियो। २० असोजयता बिहीबारसम्ममा विभिन्न मुद्दाका ८१ जना फरार कैदी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
पक्राउ परेकामा जबरजस्ती करणीका १६, लागुऔषध मुद्दाका १६, चोरी २५, कर्तव्य ज्यान मुद्दा ८, ज्यान मार्ने उद्योग ९, अभद्र व्यवहार ४, सवारी अंगभंग १, कुटपिट अंगभंग १ र मानव बेचबिखन मुद्दाका १ जना रहेको प्रहरी उपरीक्षक नवीन कार्कीले बताए।
पक्राउ परेका कैदीलाई कारागार कार्यालयमा बुझाइएको छ। कास्की कारागारबाट ७७३ जना कैदी भागेका थिए। यीमध्ये ४२३ जना आफैं हाजिर भएका थिए। अन्य फरार २६९ जनाको खोजी भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए।