प्रतीक्षालय ‘बारबेर’ पारेर कास्की मालपोतको आंशिक काम सुरु

santan ads

जेनजी प्रदर्शनका क्रममा आगजनी एवं तोडफोडबाट क्षतिग्रस्त मालपोत कार्यालय कास्कीले आजदेखि सेवा सुरू गरेको छ ।

मालपोतको मूख्य भवनलगायत सबै भवन जलेर नष्ट भएपछि सेवाग्राहीलाई छुट्याइएको प्रतीक्षालयलाई बारबेर पारेर कार्यालयले आजदेखि आंशिक सेवा दिन सुरु गरेको हो ।

प्रतीक्षालयलाई विभिन्न भागमा बाँडेर कार्यकक्ष बनाइएको छ । आल्मुनियमका पाता प्रयोग गरी तयार बनाइएका स–साना कोठालाई तत्काल प्रयोग गर्नुको विकल्प नरहेको कास्की मालपोतले जनाएको छ ।

कार्यालयले अत्यावश्यकीय सेवाका साथै नियमित सेवा सुरू गरेको मालपोत अधिकृत शोभाखर पोख्रेलले जानकारी दिए ।

कार्यालय क्षतिग्रस्त भएपछि यहाँस्थित सेवाग्राहीलाई प्रतिक्षालयबाट सेवा दिन सुरू गरिएको जानकारी दिँदै उनले अत्यावश्यक सेवा भनिए पनि सेवाग्राहीलाई सकेसम्म सबै सेवा उपलब्ध गराइने उद्देश्य राखिएको बताए ।

कार्यालयमा रहेका झण्डै ८० प्रतिशत कागजात पूर्ण रूपमा नष्ट भएकाले समस्या भएको उनको भनाइ छ ।

आन्दोलनका क्रममा कार्यालयमा रहेकामध्ये पोखरा महानगरपालिका–११, १२, १३ सहित मौजा, हेम्जाका कागजात जोगिए पनि अन्य सबैजसो वडाका कागजातहरू डढेको उनले जानकारी दिए ।

Scroll to Top