जिल्ला प्रहरी कार्यालय कास्कीले पछिल्लो सयम शान्ति सूव्यवस्था कायम गर्न हदैसम्मको सक्रियता अपनाउन थालेको छ ।
मोटरसाइकल पड्काउँदै ध्वनी प्रदुषण गर्ने र विभिन्न बहानामा समाज आतंकित गर्नेविरुद्ध कास्की प्रहरीेले सोमबार साँझदेखि ‘अपरेशन ३६५’ सञ्चालन गरेको छ ।
उक्त अपरेशनबाट हालसम्म १ सय ४ वटा मोटरसाइकल र ४४ जनालाई नियन्त्रणमा लिएको छ । जसमध्ये १६ जनालाई सम्झाई बुझाई अभिभावको जिम्मा लगाएको कास्की प्रहरीका डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
मोटरसाईकलको विभिन्न पार्टपुर्जाहरु फेरी स्वरुप परिवर्तन गर्ने, साईलेन्सर बिगारी वा परिवर्तन गरी पड्किने आवाज बनाउने, रातको समयमा चर्को ध्वनी प्रदुषण गर्ने, डिउटीमा बसेको प्रहरीसंग बादविवाद तथा झै-झगडा गर्नेलाई निन्त्रणमा लिएका हौं’ डिएसपी बस्नेतले भने ।
प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकलमा रोयल इन्फिल्डको बुलेटको संख्या अधिक छ भने त्यसपछि क्रसफायर र बजाजको पल्सर रहेको छ ।
डिएसपी बस्नेतले मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने र शान्ति सुव्यवस्थामा खलल पुर्याउने गतिविधि बढेको जनगुनासोका आधारमा अभियान चलाइएको बताए ।
‘प्रहरीले विभिन्न मिति र समयमा यस्ता गतिविधि बढेको पाएपछि एक्सनमा उत्रिएको हो’ बस्नेतले भनेका छन् ।