गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले चालु आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा महत्वाकांक्षी योजनाहरू सार्वजनिक गरेका छन्।
मन्त्री पाठकले ४३ बुँदे विस्तृत विवरण प्रस्तुत गर्दै यी योजनाहरूले प्रदेशका नागरिकहरूको स्वास्थ्य सेवामा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
मन्त्री पाठकका अनुसार, प्रदेशका १४ वटा अस्पतालहरूको स्वीकृत शैया संख्या ३०० बाट बढाएर ७५० पुर्याइएको छ। सोही अनुसार बजेट र कार्यक्रमको व्यवस्था मिलाइएको छ।
९ वटा अस्पतालहरूमा विशेषज्ञ चिकित्सकसहितको दरबन्दी थप गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ। प्रदेश जनस्वास्थ्य सेवा विधेयक गण्डकी प्रदेश सभामा पेस भई छलफलका लागि विषयगत समितिमा पठाइएको छ।
धौलागिरी प्रादेशिक अस्पताल र मध्यविन्दु प्रादेशिक अस्पताललाई १०० शैय्यामा स्तरोन्नती गरी प्रतिअस्पताल १६ विशेषज्ञ चिकित्सकसहित ९९ दरबन्दी कायम गरिएको छ ।
यसैगरी, प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल, मातृशिशु मितेरी प्रादेशिक अस्पताल, प्रदेश अस्पतालहरू (तनहुँ, पर्वत, स्याङ्जा, बुर्तिबाङ र आँपपिपल)लाई ५० शैय्यामा स्तरोन्नती गरी प्रतिअस्पताल १३ विशेषज्ञ चिकित्सकसहित ६९ दरबन्दी कायम गरिएको उनले बताए ।
प्रदेश अस्पताल, मनाङ र मुस्ताङलाई २५ शैय्यामा स्तरोन्नती गरी प्रतिअस्पताल ३ विशेषज्ञ चिकित्सकसहित ३९ दरबन्दी कायम गरिएको छ ।
गण्डकी आयुर्वेद अस्पताल, कास्की र धौलागिरी आयुर्वेद अस्पताल बागलुङमा अन्तरंग सेवा सञ्चालनका लागि ४ विशेषज्ञ चिकित्सकसहित २९ जना कर्मचारी रहने व्यवस्था उनको योजनामा छ ।
नागरिक लक्षित विशेष कार्यक्रमहरू:
आश्रममा रहेका असहायहरूलाई विशेषज्ञ चिकित्सक टोलीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार।
प्रदेश अस्पतालमा नवशिशुहरूका लागि जन्मजात रोग पहिचान गर्न निःशुल्क स्क्रिनिङ कार्यक्रम।
मनाङ र मुस्ताङबाहेकका अस्पतालमा बालबालिकामा हुने बाथ तथा मुटुरोगको निःशुल्क स्क्रिनिङ।
बुर्तिबाङ, स्याङ्जा, तनहुँ, मध्यविन्दु र धौलागिरी अस्पतालमा इमर्जेन्सी ट्रमा केयर युनिट स्थापना।
मध्यविन्दु प्रादेशिक अस्पताल, नवलपुरमा बौद्धिक अपाङ्गता एवं अटिजम भएका बालबालिकाको निःशुल्क उपचार।
अस्पतालमा सिटी स्क्यान मेसिन खरिद र मातृशिशु मितेरी प्रादेशिक अस्पताल पोखरामा निःसन्तान उपचार केन्द्र स्थापना।
प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल पोखरामा नियमित डायलाइसिसका लागि एभि फिस्टुला निःशुल्क निर्माण।
९ वटा अस्पतालमा हेमोडायालासिस सेवालाई थप व्यवस्थित।
मध्यविन्दु अस्पताल, नवलपुरमा कृत्रिम हातखुट्टा निर्माण परियोजना।
धौलागिरी, गोरखा र मध्यविन्दुमा आँखा उपचार शिविर एवं मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया।
आयुर्वेद र जनस्वास्थ्य:
धौलागिरी आयुर्वेद अस्पताल बागलुङ, गण्डकी आयुर्वेद अस्पताल कास्की र प्रदेश आयुर्वेद चिकित्सालय तनहुँमा गुदारोगको निःशुल्क स्क्रिनिङ तथा उपचार।
यी तीन र आयुर्वेद चिकित्सालय नवलपुरमा निःशुल्क स्वर्णप्राशन कार्यक्रम।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई यातायात तथा सञ्चार खर्च उपलब्ध।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला कास्कीको सेवा विस्तार।
अन्य महत्त्वपूर्ण पहलहरू:
६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, १० वर्ष मुनिका बालबालिका, अति गरिब, विपन्न र बेवारिसे व्यक्तिहरूलाई निःशुल्क स्वास्थ्य परीक्षणसहित बहिरंग सेवा।
विद्यालय नर्स कार्यक्रमलाई परिमार्जित रूपमा सञ्चालन।
मनाङ र मुस्ताङमा उच्च भेगीय स्वास्थ्य सेवा कार्यक्रम।
सबै अस्पतालहरूबाट रगत तथा रक्तजन्य पदार्थहरू निःशुल्क वितरण।
समुदायस्तरमा क्षयरोग सम्बन्धी खोजपड्ताल र निःशुल्क स्क्रिनिङ।
नसर्ने तथा मानसिक रोगको निःशुल्क स्क्रिनिङ, निगरानी तथा उपचार।
क्यान्सर बिरामीका लागि गण्डकी प्रदेश सरकारको तर्फबाट थप एक लाख बराबरको उपचार सहायता (६ वटा प्रमुख अस्पतालहरूसँग सम्झौता)।
जोखिममा परेका गर्भवती र नवशिशुहरूको निःशुल्क हवाई उद्धार (एयर लिफ्टिङ)।
विभिन्न अस्पतालमा एम्बुलेन्स खरिद र जिल्ला जनस्वास्थ्य कार्यालयलाई सवारी साधन उपलब्ध।
प्रयोगशाला सूचना प्रणाली स्थापना तथा सञ्चालन गरी विद्युतीय चिकित्सा अभिलेख प्रणालीमा एकीकरण।
अस्पताल सुदृढीकरण कार्यक्रम अन्तर्गत न्यूनतम सेवा मापदण्डको पालना र गुणस्तर सुधार।
विद्युतीकरण र बीमा कार्यक्रम:
एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली मोनिटरिङ पोर्टल र निगरानी प्रणाली स्थापना गरी समग्र स्वास्थ्य सेवालाई विद्युतीकरण।
शहीद र बेपत्ताका परिवार, द्वन्द्वपीडित, जनआन्दोलन, सशस्त्र युद्ध, मधेस आन्दोलन, थरुहट आन्दोलनका घाइते तथा ‘ख’ वर्गका अपाङ्ग, नियमित
डायलाइसिसका बिरामी र लैंगिक तथा यौनिक अल्पसंख्यकका ५ जनासम्म परिवारका सदस्यहरूको निःशुल्क स्वास्थ्य बीमा।
गण्डकी प्रदेशका पत्रकारहरूलाई निःशुल्क स्वास्थ्य बीमा।
प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र र एम्बुलेन्स प्रेषण केन्द्रलाई परिमार्जित रूपमा सञ्चालन।
मन्त्री पाठकले यी महत्वाकांक्षी योजनाहरू को कार्यान्वयनबाट प्रदेशको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
उनले मन्त्रालय मातहतका निकायहरूलाई तदारुकताका साथ कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिँदै कुनै पनि ढिलासुस्ती भएमा सिधै आफूलाई सम्पर्क गर्न आग्रह गरेका छन्।