सन् २०२६ को फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकपका लागि नेपाल छनोट भएको छ।
आजको खेलमा यूएइले समोआलाई हराएपछि नेपाल दुई खेल अगावै विश्वकपमा छनौट भएको छ ।
नेपालले लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा स्थान पक्का गरेको हो। यसअघि नेपालले २०२४ र सन् २०१४ को टी-२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो।
ओमानमा भइरहेको एसिया एन्ड इएपी छनोटमा शीर्ष तीनभित्र पर्ने पक्का भएसँगै नेपालले अर्को वर्ष हुने टी-२० विश्वकपमा टिकट पक्का गरेको हो।
यो छनोटअन्तर्गत सुपर-६ का शीर्ष ३ टोली टी-२० विश्वकपमा पुग्ने प्रावधान छ। जसमा आज युएईले सामोआलाई ७७ रनले पराजित गरेपछि नेपालको शीर्ष ३ स्थान पक्का भएको हो।
नेपालसँगै घरेलु टोली ओमान पनि टी-२० विश्वकप २०२६ का लागि छनोट भएको छ।
सुपर-६ को बाँकी दुई खेलअघि शीर्ष स्थानको ओमान र दोस्रो स्थानको नेपालको ६-६ अंक छ। अब अर्को एक टोलीले मात्र ६ अंक जोड्न सक्ने भएपछि नेपाल र ओमान विश्वकपमा पुगे।
नेपाल र ओमानले आजै राति प्रतिस्पर्धा गर्दैछन्। दुवै टोली विश्वकपमा पुगेपछि आज हुने खेल छनोटको च्याम्पियन बन्न निर्णायक हुनेछ।
आज ओमानसँग खेलेपछि नेपालले अन्तिम खेलमा शुक्रबार सामोआ खेल्नेछ।