पोखरा महानगरपालिकाले आगामी तिहारदेखि प्लास्टिकका फूल र मालाको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ ।
वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा १ अनुसार नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले २०७९ साउन १८ मा नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै प्लास्टिकका फूलगुच्छाको बिक्री, वितरण र भण्डारणमा रोक लगाएको थियो ।
सोही निर्णयलाई कार्यान्वयन गर्दै पोखरा महानगरपालिकाले पनि यस वर्षको तिहारदेखि यस्ता उत्पादनको प्रयोगमा कडाइ गरेको हो ।
महानगरपालिकाले जारी गरेको सूचनामा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने र वातावरणमा नकारात्मक असर पर्न नदिनका लागि प्लास्टिकका फूलगुच्छाको सट्टा स्थानीय तथा प्राकृतिक फूलको प्रयोग गर्न आग्रह गरेको छ ।
‘कृषि मूल्यस् जीवनम्’ भन्ने नाराका साथ महानगरपालिकाले यो पहल अघि बढाएको हो ।
प्लास्टिकका फूल र मालाले वातावरणमा प्रदूषण बढाउनुका साथै माटोको उर्वरता घटाउने, जल निकासी प्रणालीमा अवरोध पुर्याउने र स्वास्थ्यमा पनि नकारात्मक असर पार्ने अध्ययनले देखाएको छ ।
महानगरपालिकाले दिगो वातावरणीय अभ्यासलाई प्रोत्साहन गर्न र स्थानीय कृषि अर्थतन्त्रलाई टेवा पुर्याउन यो कदम चालेको हो ।
प्रतिबन्धले तिहार, छठजस्ता पर्वहरूमा प्रयोग गरिने प्लास्टिकका माला र फूलगुच्छाको आयात र बिक्रीमा कमी आउने महानगरको अपेक्षा छ ।