‘नर्सलाई २९ हजारसम्म पारिश्रमिक दिन तयार छौं’ – मणिपाल अस्पताल

santan ads

पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालले कार्यरत नर्सलाई मासिक २४ देखि २९ हजार रुपैयाँसम्म पारिश्रमिक दिन तयार भएको जनाएको छ ।

अस्पतालले मंगलबार प्रेस विज्ञप्तिमार्फत नर्स आन्दोलनको घटनाक्रम, समस्या समाधानका लागि भएको पहल र प्रस्तावित नयाँ तलब दरबारे सार्वजनिक गरेको हो ।


योग्यता र अनुभवका आधारमा चार फरक–फरक तलब दर कायम गरिने अस्पतालले जनाएको छ ।

अस्पतालले कम्तीमा एक वर्ष अनुभव भएका स्नातक पूरा गरेका नर्सलाई मासिक २९ हजार ५ सय ८७, कम्तीमा एक वर्ष अनुभव भएका पीसीएल स्टाफ नर्सलाई २८ हजार ५ सय ८७, एक वर्ष अनुभव र सीएमए / एएनएम गरेकालाई २६ हजार ५ सय ८७ र नयाँ नर्सिङ स्टाफलाई २४ हजार २ सय ८७ रुपैयाँ निर्धारण गरेको छ ।

यसबारेमा अस्पतालले नर्सलाई जानकारी गराएको छ । तर नर्सहरूले भने सरकारी पाँचौं सरह अर्थात् ४० हजार आसपास हुनुपर्ने भन्दै आन्दोलन फिर्ता लिइसकेका छैनन् । मणिपालका नर्सले हाल १५ देखि २० हजार रुपैयाँ मासिक पारिश्रमिक पाउँदै आएका छन् ।

विज्ञप्ति अनुसार हरेक नेपाली महिनाको ७ गतेभित्र तलब भुक्तानी गरिएको र १७ हजारभन्दा मुनि कसैले काम गर्नु नपरेको अस्पतालले विज्ञप्तिमा उल्लेख गरेको छ ।

नर्सलाई रातिमा सवारी सुविधा पहिल्यै दिइराखेको र तालमेलको समस्या देखिएकाले त्यसलाई समाधान गरिने अस्पताल प्रशासनको भनाइ छ ।

श्रम शोषण गरिएको र न्यून पारिश्रमिकमा काम गराइएको भन्ने विषय तथ्यहीन र भ्रामक भएको अस्पतालको भनाई छ ।

आन्दोलनले स्वास्थ्य प्रणालीमा नकारात्मक असर पार्न सक्ने भन्दै शान्तिपूर्ण, जिम्मेवार र संवादमुखी माध्यमबाट समस्याको समाधान खोज्न आन्दोलनरत पक्षलाई आग्रह गरेको छ ।

Scroll to Top