‘जेन-जी आन्दोलनका घाइतेलाई परिचयपत्र, भैपरी खर्च उपलब्ध गराइने’ – कास्की प्रशासन

santan ads

कास्कीमा जेन-जी आन्दोलनका ९२ जना घाइतेहरूलाई सरकारले परिचयपत्र र भैपरी खर्च उपलब्ध गराउने भएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार एक सूचना जारी गर्दै घाइतेहरूलाई आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

२०८२ भदौ २३ र २४ गते देशभर भएको जेन-जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई नेपाल सरकारले २०८२ असोज १२ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार ‘जेन-जी आन्दोलन घाइते परिचयपत्र’ वितरण गर्ने निर्णय गरेको हो।

गृह मन्त्रालयबाट प्राप्त सूचनाअनुसार परिचयपत्र तयार भइसकेको र असोज २६ गतेदेखि वितरण सुरु गरिनेछ।

कास्की जिल्लामा स्थायी ठेगाना भएका घाइतेहरूले आफ्नो नाम सूचीकृत भएको खण्डमा अस्पतालको उपचार पूर्जी वा डिस्चार्ज कागजात, सक्कल नेपाली नागरिकताको प्रमाणपत्र, दुई थान फोटो र घाइतेको नाममा रहेको बैंक खाताको चेकको प्रतिलिपि लिएर जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुनुपर्नेछ।

यसका साथै, आन्दोलनमा घाइते भई उपचार गराएका व्यक्तिहरूलाई तत्कालका लागि प्रतिव्यक्ति २० हजार रुपैयाँ भैपरी खर्च उपलब्ध गराइनेछ। सो रकम उपलब्ध गराउन आवश्यक बजेट प्राप्त भइसकेको सूचनामा उल्लेख छ।

सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जारी गरेको सूचनामा परिचयपत्र र त्यसको अभिलेखमा घाइतेको औँठाछाप अनिवार्य पर्ने भएकाले घाइते व्यक्ति स्वयं उपस्थित हुनुपर्ने भनिएको छ।

स्वयं उपस्थित हुन नसक्ने घाइतेको हकमा परिवारका सदस्यहरूले कार्यालयमा जानकारी गराउन सक्नेछन्।

यस कार्यको समन्वयका लागि प्रशासकीय अधिकृत झविश्वर रेग्मीलाई ९८५६०३७४८७ नम्बरमा सम्पर्क गर्न सकिनेछ।

Scroll to Top