जेन-जी आन्दोलनका घाइतेलाई थप उपचारार्थ काठमाण्डौं लगियो

santan ads

जेनजी आन्दोलनका दौरान पोखरामा भएको प्रदर्शनमा घाइते भएका लक्ष्मण नेपालीलाई थप उपचारका लागि बिहीबार काठमाडौं पठाइएको छ।

पोखरामा उपचाररत नेपालीलाई घाँटीमा गोली लागेका कारण थप क्रिटिकल केयरका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत टिचिङ अस्पताल रिफर गरिएको हो।

नेपाली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थिए। प्रतिष्ठानका निर्देशक डा. प्रेमराज पंगेनीले नेपालीलाई थप ‘क्रिटिकल केयर’ को आवश्यकता परेकाले टिचिङ अस्पताल रिफर गरिएको बताए।

पोखरा महानगरपालिका–१३ काहुँखोलाका नेपाली कक्षा ११ मा अध्ययनरत छन्।

उनलाई भदौ २४ गते जिल्ला प्रहरी कार्यालय अगाडि गोली लागेको थियो। आन्दोलनमा घाइते भएपछि फिष्टेल अस्पतालको एम्बुलेन्सले उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालको आकस्मिक कक्षमा लगेको थियो।

अस्पतालका अनुसार, घाँटीमा गोली लागेर घाइते भएका नेपालीको दुबै हात र खुट्टा नचल्ने अवस्थामा पुगेका छन्।

उनको स्वास्थ्य अवस्था सुधारोन्मुख भए पनि घाँटीमा लागेको गोलीका कारण थप उपचार गर्दा श्वासप्रश्वासमा समस्या आउन सक्ने देखिएकाले काठमाडौं पठाएको पंगेनीले बताए।

Scroll to Top