गण्डकी प्रदेश सभाको बैठक अन्तिम समयमा स्थगित भएको छ। असोज २२ गते दिउँसो १ बजे बस्ने भनिएको बैठक प्राविधिक तयारी पूरा नभएको भन्दै रोकिएको हो।
सभामुख कृष्णप्रसाद धितालका अनुसार प्रदेश सभा हल र सचिवालय जलेर ध्वस्त भएपछि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको हलमा बैठक गर्ने तयारी गरिएको थियो।
तर, सुरक्षा व्यवस्था, सिटको प्रबन्ध, र प्रत्यक्ष प्रसारणका लागि माइक तथा क्यामेरा जडान लगायतका कामहरू नसकिएकोले बैठक स्थगित गर्नुपरेको हो। कर्मचारीको बिदा र नयाँ ठाउँमा व्यवस्थापन गर्नुपर्ने भएकाले समय अभाव भएको पनि सभामुख धितालले बताए।
प्रदेश सभाले जारी गरेको सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको उल्लेख छ। सभामुख धितालले एमाले र कांग्रेसको केन्द्रीय समितिको बैठक पनि परेकाले तिहारअघि बैठक बस्न सम्भव नदेखिएको बताए।
हाल गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिसम्बन्धी कानुन परिमार्जन गर्न सरकारले विधेयक दर्ता गराएको छ। यस्तै, खानी र गाँजा खेतीसम्बन्धी विधेयक पनि सदनमा विचाराधीन छन्।
यसअघि भदौ २५ गते बस्ने गरी डाकिएको बैठक जेन्जी आन्दोलनका कारण अनिश्चितकालका लागि स्थगित भएको थियो।