असोज १२ गते राति पोखरा महानगरपालिका–१७ सहिदचोकस्थित मुख्यमन्त्रीको निवासमा दोस्रोपटक आगजनी भएको थियो ।
त्यसयता प्रहरीले आगजनी गर्ने व्यक्ति खोज्ने क्रममा १ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका–४ घर भई हाल पोखरा महानगरपालिका–७ राष्ट्रबैंकचोक बस्ने २२ वर्षीय संजोक थापा छन् ।
उनी मिति २०८२ भदौ २३ र २४ गतेका आन्दोलन, तोडफोड र आगलागी घटनापछि फरार थिए ।
सहिदचोकतिरको पर्खालबाट भित्र पसेका उनले पहिला जल्न बाँकी रहेका सामान रहेको कोठामा आगजनी गरेका थिए । जेनजी आन्दोलनका क्रममा जलाइएको मुख्यमन्त्री निवासका बाँकी सामान एउटा कोठामा राखिएको थियो ।
थापालाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
अनुसन्धानका क्रममा थापाले नेपाल राष्ट्र बैंक परिसर नजिकै रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको एटिएम मेसिनमा ढुंगामुढा गरी स्क्रिन तोडफोड गरेको र बैंक सम्पत्तिमा क्षति पुर्याएको तथ्य पनि खुलेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले आगजनी र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको अभियोगमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिए ।