वेस्ट इन्डिज क्रिकेटका अनुभवी टिप्पणीकार जोसेफ ‘रेड्स’ परेराले नेपालविरुद्धको हालैको शृंखलाले वेस्ट इन्डिजलाई कुनै पनि हिसाबले फाइदा नपुगेको भन्दै कडा टिप्पणी गरेका छन्।
खेलसँग सम्बन्धित रेडियो स्टेशनसँग कुरा गर्दै उनले सिनियर खेलाडीहरू सम्मिलित टोली पठाउनुको सट्टा ‘ए’ टोली पठाउनुपर्ने धारणा राखेका छन्।
परेराले यसअघि रोस्टन चेजको कप्तानीमा रहेको वेस्ट इन्डिजको ‘ए’ टोलीले नेपाललाई हराएको स्मरण गराउँदै यसपटक अनुभवी खेलाडीहरू सम्मिलित टोली पठाएर वेस्ट इन्डिजकोनामु लाई जोखिममा पार्नु आवश्यक नभएको बताए।
उनले जेसन होल्डर, ओबेड म्याककोय र काइल मेयर्सजस्ता अनुभवी खेलाडीहरूलाई समावेश गर्नुको सट्टा अमिर जाङ्गुजस्ता युवा, कम अनुभवी खेलाडीहरूलाई अवसर दिँदै विकास टोली पठाउनुपर्नेमा जोड दिएका थिए ।
वेस्ट इन्डिजको यस दृष्टिकोणको आलोचना गर्दै उनले भने, ‘मलाई लाग्छ कि उनीहरूले शृंखला जित्ने प्रयासमा ध्यान केन्द्रित गरे। उनीहरू खेलको विकासभन्दा पनि शृंखला जित्नमा बढी इच्छुक थिए र मलाई लाग्छ कि उनीहरूले एउटा अवसर गुमाए।’
परेराले यो शृंखलाले विकासोन्मुख क्रिकेट राष्ट्र नेपालका लागि महत्त्वपूर्ण विजय प्रदान गरे पनि अन्ततः यसले वेस्ट इन्डिजलाई ‘धेरै हानि’ पुर्याएको बताए।
परेराले वेस्ट इन्डिजको शृंखला हारको पछाडि व्यस्त तालिकालाई पनि कारण देखाए, यसलाई ‘हतार, हतार, हतार’ भनेर वर्णन गरे।
‘हामी २३ तारिखमा यहाँबाट हिँडेका थियौं र यो धेरै हतार थियो। मलाई लाग्दैन कि उनीहरू मानसिक रूपमा तयार थिए। नेपालको यात्रा लामो छ र उनीहरूको क्रिकेट विकसित भएको छ, तर वेस्ट इन्डिजको राम्रो नामलाई लज्जित हुन किन दिनेरु सायद जितको लागि मात्रै होला’ उनले भनेका छन् ।