गण्डकी प्रदेशसभाको बैठक असोज २२ गते मालेपाटनस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सभाहलमा बस्ने भएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार जेन्जी आन्दोलनका क्रममा प्रदेशसभा हल र सचिवालय भवन जलेर पूर्णरूपमा क्षतिग्रस्त भएपछि नयाँ स्थानमा बैठक सारिएको हो ।
प्रदेश सभा सचिव गोविन्द पौडेलद्वारा असोज १८ गते जारी सूचनामा भनिएको छ,
‘मिति २०८२ साल भदौ २५ गते दिनको १ बजेका लागि तोकिएको गण्डकी प्रदेश सभाको बैठक विशेष कारणवश अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो । हाल माननीय सभामुखज्यूले बैठक मिति २०८२ साल असोज २२ गते दिनको १ बजे भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, मालेपाटन पोखराको सभाहलमा बस्नेगरी मिति र स्थान निर्धारण गर्नुभएको छ ।’
सूचनामा गण्डकी प्रदेश सभा नियमावली, २०८० को नियम ६ को उपनियम ९२० बमोजिम यो सूचना प्रकाशन गरिएको उल्लेख गरिएको छ ।
जेन्जी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रदर्शनकारी समूहले प्रदेश सभा हलमा आगजनी गरेपछि भवन र सचिवालय पूर्णरूपमा प्रयोगयोग्य नरहेको अवस्था छ ।
काठ, फलाम र सिसा जल्ने क्रममा सभाहलको आन्तरिक संरचना, ध्वनि प्रणाली, कागजात र अभिलेखसमेत नष्ट भएका थिए । त्यसयता सचिवालयका अधिकांश प्रशासनिक कामहरू अस्थायी रूपमा विभिन्न मन्त्रालयका कक्षहरूमा सरेर सञ्चालन हुँदै आएका छन् ।