शिक्षामन्त्री पुनः चर्किएको मोबाइल, हिँड्दै–ज्ञापनपत्र बुझ्दै, अनि सिटीबस कुर्दै

शनिबारको बिहान पृथ्वीनारायण क्याम्पसका आंशिक शिक्षकको समूह शिक्षामन्त्री महावीर पुनको निवास नदीपुर पुग्दा उनी कुरिरहेका थिए ।

बिहान साढे ७ बजे भेट्ने समय दिएर पुग्दा मन्त्री पुनले भित्र बस्ने ठाउँ नभएको भन्दै आँगनमै गुनासो सुन्न थाले । भाडामा रहेको मन्त्रीको घरको वातावरण सुनसानप्रायः थियो ।

एक्लै रहेका मन्त्री पुनलाई न त भेट्ने कोही आएका थिए न कुनै चहलपहल । अझ मन्त्री पुन काठमाण्डौंबाट पोखरा आउँदा जुन कपडामा थिए, चितवन हुँदै पोखरा फर्किएका उनी सोही कपडामै उनी शिक्षकसामु देखिन्थे ।

करिब १६–१७ वर्षदेखि अझैपनि आंशिक नै रहेको, ७० प्रतिशत कक्षाभार लिइरहेको तर अझैपनि करार नभएको गुनासो सुनिरहेका मन्त्री पुन बेलाबेला सटिक जवाफ दिन्थे ‘सिस्टमै खत्तम रहेछ ।’

शिक्षकसँगको कुराकानीबीच आफन्तले फोन गरेको प्रष्टै बुझिन्थ्यो । उनी केही सेकेन्डमै कुरा सिध्याएर शिक्षकका गुनासा र मागमा केन्द्रित हुन्थे । तर जवाफ उही हुन्थ्यो ‘पुरै खत्तम रै’छ भन्या ।’

मन्त्री भएपनि कट्टु र गञ्जीमै भेटिने उनको फोन पनि पुरानो र स्क्रिन पुरै चर्किएको देखिन्थ्यो । मोबाइलमा रिङ्टोन बज्दा नम्बर ठम्याउन निकै हम्मे परेको थाहा पाउन सकिन्थ्यो ।

शिक्षकहरुसँग उनले केही आशा र निराशाका कुरा गरे । ‘शिक्षा क्षेत्रमै धेरै समस्या रहेको चाल पाए’ मन्त्रीले पुनले भनेका छन् ‘६ महिनामात्रै हो मेरो समय, यसबीचमा कहाँबाट कस्तो परिवर्तन गर्ने भन्ने चुनौती पो छ ।’

केही हतारमा देखिएका मन्त्री पुन त्यसपछि भने हिँड्दै सुझाव लिँदै घरबाट निस्किए । शिक्षकहरुले पुरानै मागलाई उनीसमक्ष पेश गरे । ज्ञापनपत्र बुझे ।

ज्ञापनपत्रकै खाली भागमा क्याम्पस प्रमुखको नाम र मोबाइल नम्बर टिपेर कट्टुको गोजीमा राखे, अनि सिटी बस कुरे ।

सडकमै उभिएर कुरा गरिरहँदा सिटी बस केही पर पुगेर रोकियो । अनि मन्त्री पुन कुराकानीको बिट नमारी दगुर्दै बसमा उक्लिए । र, बाटो लागे ।

Scroll to Top