शनिबार राति यूएईको शारजाहाबाट नेपालले ऐतिहासिक जीतको उपहार पाएको छ ।
शारजहामा जारी तीन खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेपछि दशैंको उमंगबीच नेपालले खुशी साट्न पाएको छ ।
वेस्ट इन्डिजविरूद्ध ऐतिहासिक जित निकालेपछि नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले प्राप्त जित तथा ‘प्लेयर अफ दि म्याच’को पुरस्कार नेपालमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदप्रति समर्पण गरेका छन्।
यस जितमा एक विकेट र ३८ रन बनाएका रोहित ‘प्लेयर अफ दि म्याच’ बनेका थिए।
पहिलो पटक आइसिसीको पूर्ण सदस्यविरूद्ध जित निकालेपछि रोहितले भने, ‘यो प्लेयर अफ द म्याच पुरस्कार नेपालमा भएको जेन-जी आन्दोलनमा ज्यान गुमाएका सहिदहरूलाई समर्पण गर्न चाहन्छु। गत महिना हाम्रो लागि राम्रो थिएन, त्यसैले हामीले नेपालका जनतालाई थोरै खुसी दिन सक्यौं भने पनि ठूलो कुरा हुनेछ।’
उनले वेस्ट इन्डिजलाई हराएपछि खुसी व्यक्त गर्दै टेस्ट खेल्ने राष्ट्रलाई हराउने लामो पर्खाइ समाप्त भएको बताए।
खेलबारे उनले भने ,’पिच पनि राम्रो थियो। मलाई लाग्छ कि यहाँ १५०-१६० को स्कोर सामान्य थियो। किनभने अघिल्लो सिरिजमा पहिले ब्याटिङ गर्ने टोलीले लगभग त्यहिँ स्कोरमा जितिरहेका थिए। त्यसैले हामी कडा चुनौती दिनका लागि १५०-१६० रनको खोजीमा थियौं। कुशल मल्लले आज साँच्चै राम्रो ब्याटिङ गरे। सिरिज खेल्न आउनुभएको छ भने, त्यो जित्नको लागि हो।’